back
stc
prabhu insurance

हातहतियार खरिद अत्यावश्यक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीलाई हातहतियार खरिद गर्नु अत्यावश्यक भइसकेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले समयसमयमा जनधनको क्षति हुने शान्ति, अमनचैन खल्बल्याउने र प्राकृतिक दङ्गा, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी नागरिकको सुरक्षाका लागि पनि कम घातक हातहतियार, छोटा दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलको आवश्यकता रहँदै आएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गरी प्रहरीका लागि आवश्यक पर्ने हातहतियार खरिद सम्बन्धी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लामो समयदेखि हातहतियारको अभाव रहेको सन्दर्भमा सरकारबाट हातहतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून अनुसार हातहतियार खरिद प्रक्रियामा रहेको जनाएको छ ।

विज्ञप्तिमा प्रहरीको सङ्गठनात्मक ढाँचा र दरबन्दीमा बढोत्तरी भएको र सात वर्षदेखि  अत्यावश्यक हातहतियार खरिद नभएकाले हातहतियारको चरम अभाव झेल्दै आएको उल्लेख छ ।

मौजुदा हातहतियार खटिने जनशक्तिलाई अपुग हुने पुरानो भई काम नगर्ने, बिग्रने र मिति समाप्त हुने हातहतियार क्रमशः विस्थापित गरी प्रयोग मिति समाप्त भएका ग्यास सेलको प्रयोगमा प्रश्न उठ्ने हुँदा पनि यस्ता साना हतियार खरिद आवश्यक भएको प्रहरीले स्पष्ट पारेको छ ।

राज्यको सीमित स्रोतसाधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई दृष्टिगत गर्दै खरिद प्रक्रिया हुने हुँदा यस विषयमा सार्वजनिक चासो, चिन्ता र सकारात्मक अपेक्षाको उच्च मूल्याङ्कन गर्दै प्रचलित खरिदसम्बन्धी ऐन, नियम र कार्यविधिमा व्यवस्था भएबमोजिम पारदर्शी ढङ्गले खरिद गर्न नेपाल प्रहरी सचेत, सजक र संवेदनशील रहेको व्यहोरा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आगामी सङ्घ र प्रदेशसभाको निर्वाचन समेतलाई शान्तिपूर्ण भयरहित, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न तथा नागरिकको जीउधनको सुरक्षाका लागि हातहतियार अतिआवश्यक भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।(