back
stc
prabhu insurance

सडक अलपत्र पार्ने ठेकेदारलाई काम सुचारु गर्न अल्टिमेटम

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीहरुलाई तत्काल काम सुचारु गर्न अल्टिमेटम दिएको छ ।

नगरपालिकाले तीनवटा सडक खण्ड स्तरोन्नतीको काम जिम्मा लिने निर्माण कम्पनीहरुलाई यही आउँदो भदौ एक गतेभित्र काम सुचारु गर्न अल्टिमेटम दिएको हो ।

हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने रौताहारसुसमरआदित्य जेभी र दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचुरबगाले थापारविएनटि जेभीलाई अल्टमेटम दिँदै काम सुचारु नभए कार्वाही गर्ने नगरपालिकाको चेतावनी दिएको छ ।

यस्तै, दिक्तेलको हाटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा दुम्ली–आयुर्वेद भवन सडक स्तरोन्नतीको काम अलपत्र पार्ने लगलगे कन्ट्रकसन चावहिललाई पनि कारबाही गर्ने चेतावनी दिएको हो ।

नगर प्रमुख तीर्थराज भट्टराईले र निर्माण कम्पनीहरुलाई छुट्टाछुट्टै पत्राचार गर्दै अवरुद्ध काम यथाशिघ्र सम्पन्न नगरे सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतका निकाय समक्ष कानून बमोजिमको कारबाहीको सिफारिस गर्ने चेतावनी दिनुभएको छ ।

नगरपालिकाले पुर्वाधार विकास कार्यालय, गाईघाट, उदयपुरलाई पत्रको वोधार्थ पठाएको छ । अलपत्र सडकहरुमा यातायात सेवा अवरुद्ध भएको छ ।

सडक हिलाम्मे हुँदा हिँडडुल गर्न समेत समस्या भएको र अलपत्र बाटोमा दुर्घटनाको जोखिम बढेको स्थानीय सुनाउँछन् ।

वर्षा सुरु भए सँगै ठप्प बनेको उक्त सडकहरु सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगाबाट बोलपत्र आव्हान भइ ठेक्का लागेको हो ।