back
stc
prabhu insurance

पुसपछि रेल चलाउने जनशक्ति अभाव हुने, कर्मचारी भर्ना प्रक्रिया अझै अघि बढेन

काठमाडौं । जयनगर–जनकपुर रेल सञ्चालन हुन थालेको झन्डै ८ महिना पूरा भएको छ । हाल भारत सरकारको मातहतको कम्पनी कोंकण रेल्वे कम्पनी ९केआरसीएल०ले नेपालको उक्त रेल सञ्चालन गरिरहेको छ ।

उक्त कम्पनीले १ वर्ष रेल संचालन गर्ने सम्झौता गरिएको छ । सो अनुसार अब भारतीय कम्पनीले ४ महिना अर्थात् पुससम्म मात्रै रेल संचालन गर्नेछ । पुससम्म नेपाली जनशक्ति तयार गर्नुपर्ने भए पनि अझै प्रक्रिया अघि बढ्न सकेको छैन ।

पुसपछि कसरी रेल सञ्चालनमा ल्याउने भन्ने विषय चिन्ताजनक रहेको छ । किनभने नेपालसँग रेल सञ्चालनका लागि आफ्नै नेपाली प्राविधिक जनशक्ति छैन ।

नेपाल रेल्वे कम्पनीका प्रमुख निरन्जन झाले जनशक्ति जुटाउन सञ्चालक समितिसँग ओएण्डएम गर्न फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको बताए । उनले रेल गुडाउन २ जना प्राविधिकलाई भारत पठाएर तालिम दिनका लागि समेत मन्त्रालयमा लिखित पत्र पठाइसकेको बताए ।

तत्कालका लागि भारतीय २६ जना प्राविधिकहरू रेल सञ्चालन गराइ रहेको उनले जानकारी दिए । ‘हामीसँग रेल सञ्चालन गर्न नेपाली प्राविधिक छैनन्, २ जनालाई तालिम लिन भारत पठाउन पहल गरेका छाँै, त्यसो गरे भारतीय कम्पनीसँगको सम्झौता पछि पनि रेल सञ्चालन गर्न सकिनेछ,’ उनले चाणक्य पोष्टसँग भने ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिक्देलले लोक सेवाको प्रक्रिया निकै लामो भएकाले तत्काल कर्मचारी भर्ना गर्न नसकिने बताए । नेपाल रेल्वे कम्पनी १७ जना कर्मचारीको कम्पनी भएकाले हाललाई २ जनालाई मात्र रेल सञ्चालनका लागि प्राविधिक तालिम दिन पठाउने तयारी भइरहेको उनले बताए ।

उनले लोकसेवाका लागि लोकसेवा सेलेबस समेत नबनेकाले विज्ञहरूलाई खटाएर पद अनुसार सेलेबस बनाउने तयारी भइरहेको बताए । ‘८र१० वर्ष रेल्वे कम्पनी सञ्चालनमै आएन त्यसले गर्दा सबै कर्मचारी हटाइए, अब कराररअस्थायीरस्थायी कर्मचारी राख्न लोकसेवाको प्रक्रियाभन्दा बाहिर गएर खटाउन सकिने अवस्था छैन,’ सचिव सिक्देलले भने ‘पद अनुसारको सेलेबस तयार गर्नुपर्यो, उनीहरूको परीक्षा सूचना निकाल्ने, परीक्षा गर्ने, अन्तर्वार्ता गर्ने यसरी धेरै समय लाग्ने देखिन्छ ।’

उनले भारतले नै अनुदानमा बनाएको हुँदा एमओयूमा भारत सरकारले स्पष्ट कुरा खुलाउन नसक्दा हाल आएर कर्मचारी खटाउन समय लागेको बताए ।

जयनगर–बिजेलपुरा खण्डमा रेलमार्ग वि।सं। १९८४ देखि सञ्चालनमा रहेको थियो । पछिल्लो चरणमा २०७० सालमा जयनगर–जनकपुर खण्डमा रेल सेवा विस्तार गरी काम अगाडि बढाइएको थियो ।

२९ किलोमिटर उक्त खण्डमा वि।सं २०७८ साल चैत्र १९ गते नेपाल सरकार र भारत सरकारले संयुक्त रूपमा उद्घाटन गरेका थिए । यसरी चैत्र २० गतेदेखि नयजगर–जनकपुर रेलमार्ग नियमित सञ्चालनमा आएको छ ।

२ मध्ये एउटा मात्र रेल सञ्चालनमा

जयनगर–जनकपुरमा रुटमा २ वटा रेल सञ्चालनमा ल्याइए पनि नियमित रूपमा एउटा मात्र गुडिरहेको छ । प्राविधिक रूपमा मेन्टेनेन्सका लागि आइतबार र सोमबार मर्मत गर्नुपर्ने हुँदा एउटा सेट तयारीमा हुनु पर्ने हुँदा एकै पटक २ वटा सेट सञ्चालनमा ल्याउन नसकेको प्रमुख झाले बताए ।

मेन्टेनेन्सको समयमा दिनभरी रेल सञ्चालन बन्द हुने भएकाले एउटा छुट्टै तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । उनले २ वटा ट्रेनलाई दिन बिराएर पालैपालो सञ्चालन गर्दै आइएको बताए ।

यात्रुको चाप बढिरहेको हुँदा सरकारले एउटा सेट थप गर्न सके २ वटा ट्रेन सेट सञ्चालनमा ल्याउन सकिने उनले बताए ।

भारतीय कम्पनी कोंकणले १ वर्षका लागि रेल सेवा सञ्चालन र मर्मत सम्भारका लागि सम्झौता गरेको छ । भारत सरकारको मातहतको उक्त कम्पनीलाई नेपालले वार्षिक कर सहित ४८ करोड रुपैयाँ तिर्नु पर्छ ।

जयनगर–जनकपुर खण्डमा रेल गुडिरहेको छ । जति खुसी रेल चढ्नमा भए पनि त्यसको मेन्टेनेन्स, सरसफाइ र फ्युलका लागि भारत लैजानुपर्ने बाध्यता रहेको छ ।

रेल्वे प्रमुख झाका अनुसार नेपाल रेल्वे कम्पनीको आफ्नो वर्कसप (फिउल सेन्टर र वासिङ सेन्टर) नभएकाले त्यसका लागि भारतमा एक्ट्रा १३ प्रतिशत भ्याट र १५ प्रतिशत टीडीएस तिर्नुपर्ने बाध्यता रहेको छ ।

यसका लागि सरकारले हरेक वर्ष १० करोड रुपैयाँ भारतमा पैसा निकासा गरिरहेको छ । एउटा सानो वर्कसप नेपालमा बनाउन सके त्यो रकम नेपालमै रोक्न सकिने उनले बताए ।

घाटाबाट उकास्न कार्गो संचालन गर्नुपर्ने

नेपाल रेल्वे कम्पनीले हाल जनकपुर–जयनगर रेल सञ्चालन घाटामा रहेको जनाएको छ । प्रमुख झाका अनुसार दैनिक टिकटबाट २ लाख १० हजार रुपैयाँ आम्दानी भइरहेको छ । त्यस अनुसार वार्षिक रेल्वे कम्पनीले ७ करोड ६६ लाख रुपैयाँ आम्दानी गर्ने छ । जुन रकम रेल सञ्चालनका लागि पर्याप्त छैन ।

रेल्वे कम्पनीको वार्षिक खर्च ४८ करोड रुपैयाँ रहेको छ । रेल्वेको कर्मचारीलाई वार्षिक तलब÷भत्तामा ३ करोड हाराहारीमा खर्च गर्नु परिरहेको उनले बताए ।

रेल्वेको इन्धनमा मात्र २ करोड १० लाख रुपैयाँ वार्षिक खर्च भइरहेको छ । यसरी रेल्वे कम्पनीलाई घाटाबाट उकास्न कार्गो सञ्चालन आवश्यक रहेको उनले बताए ।