भन्सार र आन्तरिक राजस्वमा सरूवा
काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले भन्सार विभाग र आन्तरिक राजस्व कार्यालय अन्तर्गतका प्रमुख भन्सार अधिकृतहरूको समय अवधि पुगेका १० जना सहसचिवको सरूवा गरेका छन ।
नेकपा (एमाले) निकट भनिएका केही कार्यालय प्रमुखहरूको सरूवा गरी निर्वाचन खर्च उठाएको चर्चा छ ।
गठबन्धन सरकार बनेपछि भन्सार असुली र करको लक्ष्य भेट्टाउन मुस्किल परेको छ । वीरगञ्ज, भैरहवा, विराटनगर भन्सार नाकाहरूमा तस्करी, भन्सार चोरी व्यापक बढिरहेको छ ।
एकातिर सरकरले केही बस्तुको आयातमा प्रतिबन्ध लगाएपछि लक्ष्य अनुसार भन्सार शुल्क असुली हुन सकेको छैन भने अर्कोतिर भन्सारका कमर्चारीहरूले तस्करी लाइन खुला गरेपछि अर्थतन्त्र नै चौपट्ट अवस्थामा पुगेको छ ।
तस्करी, भन्सार चोरी कति बढेको छ भन्ने उदाहरण त नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरेक दिन जसो बरामद गरेको करोडौं रकमको अवैध सामानले नै पुष्टि गर्छ ।
अर्थ मन्त्रालयले एयरपोर्ट भन्सारका प्रमुख भन्सार प्रशासक महेश भट्टराईलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई एयरपोर्ट भन्सारको प्रमुख भन्सार प्रशासकमा सरुवा गरिएको छ ।
मध्यमस्तरीय करदाता कार्यालय बबरमहलका प्रमुख शम्भु मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।
महालेखा कार्यालयका सहसचिव नवराज ढुङ्गानालाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरूवा गरिएको छ ।
यसैगरी भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेको भने अर्थ मन्त्रालयमा, मन्त्रालयका प्रवक्तासमेत रहेका ढुण्डी प्रसाद निरौलालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखमा सरुवा गरिएको छ ।
ठुला करदाता कार्यालयका प्रमुख शिवलाल तिवारीलाई राजस्व प्रशासन तालिम केन्द्रमा लगिएको छ । मन्त्रालयका राजेश्वर ज्ञवालीलाई ठुला करदाता कार्यालयको प्रमुखमा सरूवा गरिएको छ ।
यस्तै, तालिम केन्द्रका प्रमुख सुमन दाहाललाई अर्थ मन्त्रालयको वित्तीय संघीयता महाशाखमा सरुवा गरिएको छ । वित्तीय संघीयता महाशाखा प्रमुख बाबुराम सुवेदीलाई आर्थिक नीति विश्लेषण महाशाखामा सरूवा गरिएको मन्त्रालय स्रोतले बताएको छ ।
वि.सं.२०७९ भदौ १८ १५:५०


















