back
prabhu insurance
himalayanlife

केन्द्रीय बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैङ्कले एक सूचनामार्फत क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैङ्कले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचना अनुसार क वर्गका वाणिज्य बैङ्क रु एक अर्ब ६० करोड, ख वर्गका बैङ्कले रु ३० करोड र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

बैङ्कले यही भदौ २२ गते राति १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैङ्कको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने लगायतका सर्त राखिएको छ ।

केन्द्रीय बैङ्कको वित्त व्यवस्थापन विभाग अवकाश कोष इकाईले तोकिएको शर्त पूरा गरेर आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । रासस