back
prabhu insurance
himalayanlife

२९ वर्षदेखिको कर असुल गर्न काठमाडौं महानगरपालिकाको तत्परता

काठमाडौं । विगत २९ वर्षदेखिको सम्पत्ति कर असुल गर्नका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई पुनः पत्राचार गरेको छ ।

कामपा राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन सम्बन्धित करदातालाई पत्राचार सहित अनुरोध गरेको हो ।

कामपाले यसअघि पनि ती करदातालाई पटक–पटक पत्राचार गरे पनि उनीहरूले बेवास्ता गर्दै आएका थिए ।

यसरी कर नतिर्ने संस्थाहरुमा खाद्य संस्थान, हाईट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहीटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रत्नपार्क, नेशनल ट्रेडिङ लिमिटेड सिंहदबार, नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनोमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल स्वयम्भू, आर बि कम्प्लेक्स न्युरोड, काठमाडौँ प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडक, सिविक हस्पिटल प्रालि, डेन्टल कलेज सामाखुसी काठमाडौँ गरी १७ रहेका छन् ।

यसरी कामपाले गरेको पत्राचारको बेवास्ता गरे राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने पत्रमा उल्लेख गरिएको छ ।

कामपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार यसरी असुल उपर हुनुपर्ने रकम करिब रु ५० करोड रहेको छ । विगतका वर्षहरूमा झैँ यस पटक पनि आनाकानी गरे कामपा थप कारबाही गर्न बाध्य हुने बताइएको छ ।