back
stc
prabhu insurance

शिक्षकहरु आन्दोलनमा, कालोपट्टी बाँधेर अध्यापन

काठमाडौं । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले आन्दोलन शुरु गरेको छ ।

आन्दोलन स्वरुप देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरुले मंलबार हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका छन् । उनहिरुले भदौ २६ र २७ गते संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई माग संवोधनका लागि पहल गर्न भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

देशको शैक्षिक संरचनालाई अन्तर्राष्ट्रिय परिवेश अनुकुल बनाउनु पर्ने, शिक्षक दरबन्दी र व्यवस्थापनमा सरकारले ध्यान दिनु पर्ने, उच्च माध्यमिक तहमा लामो समय सेवा गरी उमेरका कारणले अनिवार्य अवकासमा जाने शिक्षकलाई विशेष सुविधाको व्यवस्था गर्नु पर्ने शिक्षकहरुको माग छ ।

नेपालको संविधान २०७२ बमोजिम माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क भनिएपनि साविक उच्च माध्यमिक विद्यालयहरुले विद्यार्थीबाट चर्को शुल्क उठाउने गरेका र आन्तरिक स्रोतबाट तलव खाने शिक्षकलाई भने कम तलव दिने जस्ता कार्य बन्द गर्नु पर्ने पनि आफूहरुको माग रहेको हिस्टुनका अध्यक्ष दिपकराज सुवेदीले ईमेज खबरलाई बताउनु भयो ।

त्यसैगरी दरबन्दी र अनुदानमा कार्यरत शिक्षकहरुलाई सरकारले निकासा गरेको पूरै रकम नदिएर कतिपय बिद्यालयका प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले कम रकम दिने गरेका भन्दै त्यस्तालाई कारवाही गरेर शिक्षकले पूरा रकम पाउनु पर्ने व्यवस्था गर्न पनि हिस्टुनले सरकारसँग माग गरेको छ ।

सामुदायिक उच्च माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई आन्तरिक प्रकृयाबाट स्थायी गर्न, निवृत्तिभरण वा उपदान प्रयोजनका लागि समेत विद्यालयको अभिलेख अनुसार समय गणना गर्न तथा निजामती कर्मचारी,सेना र प्रहरीको जस्तै गरी शिक्षकहरुको पनि स्वास्थ्य बीमा गर्न माग गरिएको अध्यक्ष सुवेदीको भनाई छ ।

आफ्ना मागहरु संवोधन नभएसम्म आन्दोलन जारी राख्ने हिस्टुनका पूर्व अध्यक्ष पुष्प न्यौपानेले बताउनु भयो ।