back
prabhu insurance
himalayanlife

बढ्यो विदेशी मुद्रा सञ्चिति पर्याप्तता

काठमाडौँ । विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार बैङ्किङ क्षेत्रसँग हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ) बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यो असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि हो ।

असार मसान्तसम्म सञ्चिति विदेशी मुद्राबाट ६.९४ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्थ्यो ।

त्यस्तै साउनसम्म सञ्चित रहेको विदेशी मुद्राबाट ९।४ महिनाको वस्तु आयात धान्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचकमा सुधार आए पनि विदेशी मुद्राको सञ्चित रकम भने घटेको छ । असारसम्म नौ अर्ब ५४ करोड डलर सञ्चिति रहेकामा साउनमा १२ करोड डलर घटेर नौ अर्ब ४२ करोड डलर कायम भएको छ ।

आयात र निर्यातमा ह्रास

सरकारले वैशाखदेखि विभिन्न १० वटा वस्तुको आयातमा सर्तसहित कडाइ गरेको थियो । यसको प्रभावले आयातको परिमाण घटेको हो ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३१ अर्ब २९ करोड रुपियाँ बराबरको मात्र भएको छ । अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा आव २०७९/८० को साउनमा कुल वस्तु आयात १३ प्रतिशतले घटेको छ ।

साउनमा निर्यात पनि घटेको छ । प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा कुल निर्यातमा २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपियाँ मात्र भएको छ । आयात घट्दा व्यापार घाटा १०.४ प्रतिशतले घटेर एक खर्ब १६ अर्ब रुपियाँ कायम भएको छ ।

चालू खाता र शोधनान्तर स्थिति सुधारोन्मुख

आयात घट्दा मुलुकबाट बाहिरिने रकम पनि घटेकाले त्यसको प्रत्यक्ष असर चालू खाता र शोधनान्तर स्थितिमा परेको देखिएको छ ।

साउनमा चालू खाता घाटा १६ अर्ब २६ करोड रुपियाँ पुगेको छ जब कि गत वर्ष साउनमा यस्तो घाटा ४७ अर्ब २९ करोड रुपियाँ थियो । त्यस्तै शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो साउनमा यस्तो स्थिति ३८ अर्ब ७५ करोड रुपियाँले घाटामा थियो ।

महँगी दोब्बर

गत वर्ष साउनको तुलनामा यस वर्षको साउनमा महँगी झन्डै दोब्बरले बढेको छ । राष्ट्र बैङ्कका अनुसार साउनमा उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत मात्र थियो ।

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य ९.१८ प्रतिशत रहेको छ । खाद्यतर्फ सबैभन्दा धेरै घिउ तथा तेलको १९.५८ प्रतिशत र गैरखाद्यतर्फ यातायात क्षेत्रको २३.८८ प्रतिशत मूल्य बढेको छ ।

विप्रेषणमा सुधार

साउनमा विप्रेषण आप्रवाह बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा विपे्रषण आप्रवाह २०.३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।

अमेरिकी डलरमा भने विपे्रषण आप्रवाह १२.८ प्रतिशतले मात्र बढेको छ । यसअवधिमा वैदेशिक रोजगारीका लागि जान खोज्ने नेपालीको सङ्ख्यामा उच्च वृद्धि भएको छ ।

साउनमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति २२२.८ प्रतिशतले बढेर ४४ हजार ५४० पुगेको छ ।

कर्जा र निक्षेप दुवै घट्यो

साउनमा कर्जा र निक्षेप दुवै घटेको छ । राष्ट्र बैङ्कका अनुसार साउनमा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको छ ।