डलरको भाउ बढयो,अब मूल्य बढने
काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार असोज ९ गते आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९.८९ रूपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको बताइएको छ ।
डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर कायम रहदै आएको छ ।
राष्ट्र बैंकले हिजो असोज ९ गते अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८९ पैसा तिर्नुपर्ने विनिमय दर कायम गरेको जनाएको छ ।
पछिल्लो समय रुस ( युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ।
डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ । विगतमा अमेरिकी डलरको भाउ दरभन्दा महङ्गो रहदै आएको युरोपियन युरोको भाउ हिजो खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा रहेको छ । डलरभन्दा युरो मुद्रा कमजोर भएको छ। युरोलाई डलरले उछिनेको छ।
त्यस्तै हिजो आइतबार डलरभन्दा महङ्गो मुद्राहरूमा युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क र दिनार रहेका छन् ।
युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । डलरको भाउ वृद्विसँगै अब आयातित सबै सामानको मूल्य बढने छ,महंगी बढने छ।
वि.सं.२०७९ असोज १० ०७:१०




















