राष्ट्र बैंकमा नयाँ नोट साटनेको भिड
काठमाडौ । असोज १० गतेदेखि दसैँ पर्व सुरु भएको छ। हिजो घटस्थापनाका दिन जमरा राखिएको छ। हिजोबाटै नौरथा सुरु भएको छ।
नेपाल राष्ट्र बैंक बालुवाटार कार्यालयमा दसैँको पूर्वसन्ध्यामा नयाँ नोट साट्ने निकै भीड बढेको छ। राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि दसैँ लक्षित नयाँ नोट साट्न सुुरु गरेको थियो। राष्ट्र बैंकमा केही दिनयता देखि नयाँ नोट सटही गर्नेहरुको भीडभाड बढेको छ।
अधिकांश सर्वसाधारण दसैँका लागि उपत्यका छाडेर घर जाने हुनाले र उपत्यकाबाट नयाँ नोट साट्न सहज हुने भएकाले गत बिहीबारदेखि नयाँ नोट साटनेको भीड बढेका राष्ट्र बैंक स्रोतले जनाएको छ।
हिजो आइतबारदेखिनै अधिकांश मानिसहरुले उपत्यका छाडन थालेका छन। हिजो करिव एक लाख मानिस बाहिर गएका छन।
सामान्तया घटस्थापनादेखि विद्यालय,कलेज,अदालत बन्द हुने हुँदा मानिसहरू उपत्यका छाडि दसैं मनाउन घर जाने गर्छन।
फूलपातीदेखि कार्यालयहरु बन्द हुने भएकोले सोही दिनदेखि मानिसहरु अत्याधुनिक रूपमा उपत्यबाट बाहिरिने गर्दछन्। तर यो वर्ष फूलपातीको अघिल्लो दिन शनिबार परेको छ। त्यसैले शनिबारबाटै कामकाजी मानिसहरु बाहिरिने सम्भावना देखिएको छ।
राष्ट्र बैंकको बालुवाटार कार्यालयमा सुुरुका दिनमा नयाँ नोट सटही गर्ने भीड नभए पनि गत बिहीबारदेखि नयाँ नोट साट्न आउनेहरुको भीड बढेको छ।
हिजो आइतबारसम्म राष्ट्र बैंकले साढे ९ अर्ब रूपैयाँ बराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थाहरुमा पठाएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई मंगलवारसम्म दोस्रो चरणको नयाँ नोट उपलब्ध गराउने जनाएको छ।
वि.सं.२०७९ असोज ११ ०८:३०




















