back
stc
prabhu insurance

नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर सहितका सामग्री हस्तान्तरण

काठमाडौं । विश्‍व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक क्रार्यक्रमबीच संयुक्त रुपमा उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक कुँवरले हस्तान्तरण भएका सामग्रीहरू सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने उक्त अवसरमा जानकारी दिनुभयो ।

कार्यक्रममा महाशाखाका निर्देशक डा।चुमनलालले सवारी चालकहरूले मादक पदार्थ सेवन गरेरनगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि नेपाल प्रहरीलाई सहयोग हुने बताउनुभयो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनिकरण गर्न उक्त सामग्रीहरू हस्तान्तरण गरिएको उक्त अवसरमा जानकारी दिइयो ।

प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापक महाशाखाका निर्देशक डा. सर्वेश शर्मा, रोड सेप्टी काउन्सिलका प्रतिनिधि सरोज प्रधान, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योती बानिया, स्वास्थ्य सेवा विभाग कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन महाशाखाका डा. रवीन्द्र बासकोटा र प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।