back
stc
prabhu insurance

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सातवटै प्रदेशमा नार्क प्रविधि गाउँ स्थापना गर्ने

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सातवटै प्रदेशमा नार्क प्रविधि गाउँ स्थापना गर्ने भएको छ । हाल तीनवटा प्रदेशमा स्थापना भइसकेको छ ।

सातवटै प्रदेशमा नार्क प्रविधि गाउँ स्थापना गर्ने कार्ययोजना रहे पनि हाल तीनवटा प्रदेशमा एक–एकवटा गाउँमा नमुनाका रूपमा कार्यक्रम अगाडि बढाएको नार्कअन्तर्गतको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डा। ध्रुवराज भटट्राईले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको तनहुँ बरादी गाउँपालिका, प्रदेश–१ मोरङको वराह क्षेत्र, प्रकाशपुर र लुम्बिनी प्रदेश दाङको राप्ती गाउँपालिकालाई नार्क प्रविधि गाउँ बनाउने गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

तनहुँको बरादी गाउँपालिकामा धान खेतमा माछापालन, सुन कागती, मेकेडेमिया नट, सुन्तला खेतीलगायतका कार्यक्रममा नार्कले नयाँ प्रविधिलगायतमा सहयोग गर्नेछ ।

त्यस्तै वराह क्षेत्र, प्रकाशपुरमा माछा, तरकारी, बिनाखनजोत गहुँ खेती, घाँसे बाली, राजमा, च्याउ खेती तथा राप्ती गाउँपालिकामा धान, राजमा, कागती, रहर दाल खेतीमा नयाँ प्रविधि प्रयोग गरी नार्क प्रविधि गाउँ स्थापना गर्न लागिएको हो ।

यी गाउँमा कृषि, पशुपन्छी तथा मत्स्यपालनसँग सम्बन्धित नार्कद्वारा विकास गरिएको प्रविधि कृषककै सहभागितामा प्रदर्शन गरिने जनाइएको छ ।

यी गाउँमा नयाँनयाँ प्रविधि तथा उन्नत जातका बीउबिजन प्रयोग गरी उत्पादनमा वृद्धि गर्नु मुख्य उद्देश्य भए पनि नार्कले विकास गरेको नयाँनयाँ प्रविधिको पनि प्रदर्शन हुने केन्द्रका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

पर्यटकीय हिसाबले पनि यी गाउँलाई विकास गरिने उद्देश्य पनि रहेको बताउँदै उहाँले नार्क प्रविधि गाउँमा उत्पादन हुने वस्तुलाई हेर्न अन्य ठाउँबाट पनि किसान अवलोकनका लागि आउने गरी कार्यक्रम अगाडि बढेको बताउनुभयो ।

नार्क प्रविधि गाउँलाई स्थानीय कृषि प्रविधि स्रोत केन्द्रका रूपमा विकास गरी आसपासका कृषक र कृषि उद्यमीलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रम अगाडि बढेको बताइएको छ ।

त्यसका साथै युवा जनशक्तिलाई कृषि पेसामा आकर्षण गर्दै प्रविधिमा आधारित उद्यमशीलता विकास गरी स्वरोजगार बन्न यो कार्यक्रमले प्रोत्साहन गर्ने नार्कले जनाएको छ ।

कार्यक्रम सञ्चालन गर्न सम्बन्धित प्रदेश सरकार तथा कार्यक्रम सञ्चालन हुने स्थानीय सरकारको समन्वयमा कृषक समूह अथवा कृषि सहकारी छनोट गरी उपयुक्त देखिएका सम्झौता गरी त्यही संस्थामार्फत कार्यक्रम सञ्चालन गरिनेछ । कृषक समूह वा सहकारी नभए किसानकै सहभागितामा कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

नार्क प्रविधि गाउँमा प्रविधि प्रदर्शन र विस्तारका लागि नार्कद्वारा विकास गरिएको बीउबिजन, उन्नत नश्लका पशुपन्छी, माछा तथा आधुनिक उपकरण किसानलाई निःशुल्क हस्तान्तरण गरिनेछ । यो कार्यक्रम बढीमा १० वर्षसम्म सञ्चालन हुने, त्यसपछि किसानले आफैँ सञ्चालन गर्ने नार्कले जनाएको छ ।