back
stc
prabhu insurance

दूधमा आत्मनिर्भर तर आयात खुला

काठमाडौँ । नेपाल दूधमा आत्मनिर्भर भए पनि सरकारले भारतबाट दूध आयात खुला गरेको छ । सरकारले कच्चा दूध आयात खुला गरेपछि डेरी उद्योगले भारतबाट दूध ल्याउन थालेका छन् ।

आयात खुला भएपछि सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले ६० हजार लिटर दूध आयात गरिसकेको छ भने अरू ल्याउने प्रक्रियामा छ ।

डेरी उद्योगीले आयात खुला गर्न माग गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध आयात गर्ने अनुमित दिन थालेको हो ।

कृषि मन्त्रालयले असोज मसान्तभित्र दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्ने अनुमति दिएको छ । त्यसमा दैनिक ४० हजार लिटर डीडीसीले ल्याउन पाउनेछ भने बाँकी ८० हजार लिटर निजी उद्योगीहरूले ल्याउन पाउनेछन् ।

दूधको अभाव भयो भनेर आयात खुला गर्न माग गरिएको भए पनि डेरी उद्योगीले दाबी गरेजस्तो दूधकै उत्पादन नभएको भने होइन । बरु गाउँगाउँमा उत्पादन भएको दूध सङ्कलन हुन नसकेको वा गर्न नचाहेका कारण सहरमा दूधको अभाव देखिएको हो ।

आधा उत्पादन बजारमै आउँदैन

“देशमा वार्षिक २६ लाख मेट्रिक टन दूध उत्पादन हुन्छ तर बजारमा १० लाख मेट्रिक टन पनि दूध आउँदैन, उत्पादन भएकोमध्ये ५० प्रतिशत दूध किसानकै घरमा थन्किने वा घरमै उपभोग हुने गरेको छ,” पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले भन्नुभयो ।

अहिले सहरबजारको नजिक रहेका र सहज पहुँच भएका गाउँबाट मात्रै दूध सङ्कलन भइरहेको छ । त्यसैले बजार पहुँच नभएका गाउँको दूध सहरसम्म ल्याउन सकियो भने दूधको अभाव कहिल्यै नहुने डा। ढकालले बताउनुभयो ।

केन्द्रीय दूग्ध सहकारी सङ्घका अध्यक्ष नारायणप्रसाद देवकोटाले पनि मुलुकमा दैनिक २२ लाख लिटर दूध उत्पादन भइरहेको जानकारी दिँदै औपचारिक बजारमा १० लाख लिटर दूध मात्र आउने गरेको बताउनुभयो ।

“दैनिक १२ लाख लिटरभन्दा बढी दूध गाउँबाट अर्थात् किसानको घरबाट सहर नआएका कारण अभाव देखिएको हो,” देवकोटाले भन्नुभयो ।

नेपालमा उत्पादन हुने दूधमध्ये ५० प्रतिशत दूध मात्र बजारमा आइपुग्छ । त्यसमध्ये ३५ प्रतिशत दूध स्थानीय चिया पसल, रेस्टुराँ, मिठाई पसलमा खपत हुन्छ भने १५ प्रतिशत दूध मात्र औपचारिक क्षेत्रमा जान्छ (जहाँ डेरीको प्याकेटवाला दूध मात्र प्रयोग हुन्छ) ।

अहिले त्यही औपचारिक क्षेत्रका लागि दूधको अभाव भएको छ भन्दै डेरी उद्योगले भारतबाट थप दूध ल्याउन अनुमति मागेको प्रवक्ता ढकालले बताउनुभयो ।

गाउँ छिर्दैनन् उद्योग

विभागका प्रवक्ता ढकालले डेरी उद्योगले गाउँबाट दूध सङ्कलन गर्न नचाहेको र सजिलोका लागि आयातित दूध रोजेको बताउनुभयो । “डेरी उद्योगीले सजिलो मात्र खोजेका छन्, अब सहरमा मात्र दूध खोजेर हुँदैन, गाउँतिर खोज्न जानुपर्छ, त्यहाँ जति पनि दूध पाइन्छ,” उहाँले भन्नुभयो ।

किसानले डेरी पसललाई दूध दिन थालेपछि ठूला डेरी उद्योगलाई दूधको अभाव भएको हो । डेरी पसललाई दूधको अभाव छैन । यिनीहरू गाउँगाउँबाट दूध सङ्कलन गर्छन् । उनीहरूलाई धेरै दूध चाहिएको हुँदैन । गाउँघरबाट जति सङ्कलन हुन्छ त्यति ल्याएर ल्याएर बेचिरहेका हुन्छन् ।

पछिल्लो समय उपभोक्ता तथा किसानको आकर्षण खुला दूध (डेरी पसलले प्लास्टिकको पोकामा हालेर दिने) खरिद बिक्री गर्नेतिर बढ्न थालेको एक अध्ययनले देखाएको छ ।

उपभोक्ताले पनि प्याकेटको दूधभन्दा खुला दूध उपभोग गर्नेतिर लागेको देखिन्छ । त्यस्तै किसानले पनि खुला दूध बेचिरहेको डेरी पसललाई नै बेच्ने गरेका छन् ।

“डेरी उद्योगले एसएनपी, फ्याटका आधारमा मूल्य निर्धारण गर्छन् । किसानसँग खरिद गरेको दूधको भुक्तानी पनि समयमा दिएका हुँदैनन् । भुक्तानीका लागि केही समय पर्खाएकै हुन्छन् तर खुला डेरीमा त्यस्तो हुँदैन”, प्रवक्ता ढकालले भन्नुभयो ।

गाउँबाट सङ्कलन गर्न कठिन

डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले भन्नुभयो, “गाउँघरबाट दूध ल्याउन बाटोघाटो राम्रो हुनुपर्छ । पर्याप्त दूध सङ्कलन हुने चिस्यान केन्द्र बनाइदिनुपर्छ, त्यसपछि हामीलाई दूध ल्याउन कुनै आपत्ति हुँदैन ।”

किसानको घरबाट दूध ल्याउन सक्ने वातावरण र पूर्वाधार सरकारले तयार गरिदिनुपर्ने दाहालले बताउनुभयो । “अरू वस्तु र दूध ढुवानीमा धेरै फरक छ, दूधको सबै काम समयमा हुनुपर्छ अनि मात्र ढुवानी गर्न सकिन्छ । यो अवस्था सरकारले तयार गर्नुपर्छ, किसान वा उद्योगीले गर्न सक्दैन,” उहाँले भन्नुभयो । आजको गोरखापत्र दैनिकबाट