तीव्र गतिमा सवारी चलाए कारबाही
काठमाडौँ । तपाईं काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारीसाधन चलाउँदै हुनुहुन्छ वा चलाउने गर्नुभएको छ भने अब सावधान हुनुहोला । अब छिटो सवारी साधन चलाउने चालकले पनि मापसे (मादक पदार्थ सेवन) र लेनक्रस उल्लङ्घन गरेजस्तै दण्ड जरिवाना बुझाउनुका साथै ट्राफिक सचेतना कक्षा लिनुपर्ने हुन्छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारीसाधन चलाउनेलाई मङ्सिर १५ गतेबाट ट्राफिक नियम अनुसार कारबाही गर्नुका साथै एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाको हकमा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गतिमा सवारीसाधन चलाउनेलाई तीव्र गति मानिनेछ । मापसे गरी सवारीसाधन चलाउने चालकलाई एक हजार रुपियाँ तथा लेन क्रस गर्नेलाई पाँच सय रुपियाँ जरिवाना र ट्राफिक सचेतना कक्षा लिनुपर्ने हुन्छ ।
तीव्र गतिकै कारण उपत्यकामा हुने धेरै सवारी दुर्घटना हुने गरेको बताउँदै प्रवक्ता भट्टले सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले यो प्रावधान लागू गर्न लागेको बताउनुभयो ।
चालू आर्थिक वर्षको तीन महिनामा तीव्र गतिमा सवारी चलाउने आठ हजार ५८४ चालकलाई कारबाही गरिए पनि चालकहरूमा अझै सचेतना कमी भएको देखिएकाले दण्ड जरिवानाका साथै सचेतना कक्षासमेत सञ्चालन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो ।
त्यसैगरी विशेषगरी चारपाङ्ग्रे सवारीसाधनमा जडान गरिएको बम्फर गार्ड मङ्सिर १५ गतेसम्म हटाउनसमेत सार्वजनिक रूपमै आह्वान गरिएको उहाँले बताउनुभयो । सो अवधिसम्म नहटाएमा कारबाही प्रक्रिया अगाडि बढाइने पनि उहाँले बताउनुभयो ।
उहाँका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठीक नभएका ३५२ वटा सवारीसाधनलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको, ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको छ ।
त्यसैगरी स्कुल बस निर्देशिका, २०७४ विपरीत स्कुल बस चलाउने १७० जना चालकलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । कारबाही गरिएका चालकहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना रहेको उहाँको भनाइ छ ।
त्यसैगरी विद्युतीय स्कुटर, मोटरसाइकललगायतका सवारीसाधनहरू समेत अनिवार्य रूपमा दर्ता हुनुपर्ने प्रावधान रहे पनि धेरैजसो दर्ताबिना नै सञ्चालनमा ल्याएको पाइएको बताउँदै उहाँले त्यस्ता सवारीसाधन बिनादर्ता सञ्चालनमा ल्याए कारबाही गरिने उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
वि.सं.२०७९ मंसिर ११ ०६:२१




















