back
stc
prabhu insurance

महाभियोग निष्क्रिय भएको पत्रपछि चोलेन्द्र सर्वोच्च फर्किने तयारीमा

काठमाडौं । संघीय संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नियमित काममा सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा लागेका छन् ।

पुरानो संसद्को कार्यकाल सकिएर संसद्‍मा नयाँ सदस्य निर्वाचित भएसँगै संसदका महासचिव भरतराज गौतमले महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएका थिए । दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार नै सर्वोच्च अदालत जाने भएका छन् ।

महाभियोग प्रस्तावबारे जानकारी पाउन जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।

अघिल्लो संसदमा महाभियोग दर्ता भएदेखि नै जबरा निलम्वित अवस्थामा थिए । महाभियोग प्रस्तावमाथिको छलफल अघिल्लो संसदले टुंगोमा पुर्याउन नपाउँदै आमनिर्वाचन सम्पन्न भएको छ ।

संसदले महाभियोगमाथि छलफल गर्न समिति बनाएर दुई हप्ता लामो बयान लिएपनि टुंगोमा नपुर्याउन नसकेर अलपत्र छाड्दा महाभियोग निष्क्रिय हुन पुगेको हो । यद्यपि यसबारे दलहरुले औपचारिक रुपमा केही बोलेका छैनन् ।