back
stc
prabhu insurance

१९ औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९ औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिता आज सम्पन्न भएको छ । मंसिर २३ गते २७ गतेसम्म पाँच दिनसम्म सञ्चालन भएको सो मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् ।

मेलामा बिक्री तथा बुकिङ समेत गरी कूल १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक एवं नेपाल हस्तकला महासङ्घ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले बताएका छन ।

गत मंसिर २३ गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो मेला समुद्घाटन गरेका थिए । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मेला अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पु¥याउने विभिन्न विशिष्ट व्यक्तित्व सहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बडूले सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत उत्पादनमा वृद्धि, मुलुक विकास र समृद्धि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र यसको लक्ष्य प्राप्तिको माध्यम भएको धारणा राखेका थिए।

मन्त्री बडूले हस्तकला क्षेत्रका समस्या सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै व्यवसायीसँग सरकारी लक्ष्य प्राप्तीमा हातेमालो गर्न आग्रह पनि गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ठ व्यक्तिहरूले मेलाको अवलोकन गर्दै कलाकारको हौसला बढाएको महासङ्घले जनाएको छ ।

मेलामा १० ज्येष्ठ कलाकारलाई औषद्योउपचार खर्च सहित सम्मान गरिएको थियो भने महासङ्घको स्थापनाकालदेखि हालसम्म बहालवाला ज्येष्ठ ५० जना सदस्यलार्ई पनि सम्मान गरिएको थियो ।

कोभिड महामारीपछि हस्तकला व्यवसाय सङ्कटमा परे पनि मेलाले कलाकार र व्यवसायीलाई पुनर्जागरण गरेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार हस्तकलाको निकासी विस्तारै लयमा फर्कन थालेको छ भने पर्यटक आगमनको वृद्धिसँगै आन्तरिक बजारमा पनि बिक्री हुन थालेको छ ।

सरकारले निकासी अनुदान तथा स्वदेशी वस्तु अनिवार्य खरिद सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सकेमा यो क्षेत्र आर्थिक विकासको मूलप्रवाह आउन सक्ने विश्वास गरिएको छ ।