back
prabhu insurance
himalayanlife

फर्जी बिल बनाउने चार कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । होटलहरूको फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा पञ्चपुरी नगरपालिका सुर्खेतका लेखा अधिकृत मोहनबहादुर बुढा समेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

खाली बिलमा किर्ते बिल भर्पाई तयार गरी भुक्तानीका लागि गोश्वारा भौचर र बैङ्कको चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरी दुई लाख ६२ हजार ५०२ रुपियाँ भुक्तानी दिएको देखिएको अख्तियारको आरोप छ।

फर्जी बिल पेस गरिएको न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एन्ड होटलका सञ्चालक भविलाल रामजालीले पञ्चपुरी नगरपालिकामा होटलको पान नम्बर भएको खाली बिलमा छाप लगाएर बुढालाई दिएकाले होटल सञ्चालकलाई समेत विपक्षी बनाइएको छ।

सोही कार्यालयका अधिकृत ९छैटौँ० लालबहादुर सुवेदी र अधिकृत छैटौँ तुलसी केसीले झुटो बिल भर्पाई बनाई गैरकानुनी लाभ वा हानि पु(याउने बदनियतले सरकारी रकम

हिनामिना गर्ने कार्यमा मतियारको काम गरेको पुष्टि हुन आएको देखिएकाले मतियारका रूपमा कारबाहीको माग दाबी गरिएको अख्तियारले जनाएको छ।

तीन मुद्दामा पुनरावेदन दर्ता

सार्वजनिक सम्पत्ति हानि–नोक्सानी र घुसररिसवतका तीनवटा मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेको छ। विशेष अदालतले दिएको सफाइविरुद्ध अख्तियारले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

प्रतिवादीहरू टीकाराम कामी, नवीनचन्द्र झा, दिलचन्द्र राई, खगेन्द्र बस्नेत, राम विश्वास मुखिया र निरगुन पासवानसमेत विरुद्ध दायर मुद्दामा पुनरावेदन गरिएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उल्लेखित प्रतिवादीहरूविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले विभिन्न मितिमा सफाइको फैसला गरेको र सो फैसला कानुनविपरीत रहेको भन्दै पुनरावेदन गरिएको विज्ञप्तिमा जनाइएको छ।