कृषिक्षेत्रमा विदेशी लगानीको बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाउने कानूनी प्रावधानको पक्षमा फैसला गरेको छ ।
कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याउने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को संशोधन कार्यान्वयन नगर्न माग गर्दै दर्ता भएको रिट सर्वोच्चले खारेज गरेपछि कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउने बाटो खुलेको हो ।
यसअघि पटकपटक कृषिक्षेत्रमा वैदेशिक लगानी आवश्यक पर्ने आवाज उठ्दै आएको थियो तर, पनि वैदेशिक लगानीमाथिको अवरोध हट्न सकेको थिएन । खासगरी उद्योगी, व्यवसायीले कृषिमा वैदेशिक लगानी ल्याउँदा साना किसानले प्रतिस्पर्धा गर्न नसक्ने तर्क गर्दै आएका थिए ।
सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को संशोधन गर्दै ७५ प्रतिशत निर्यात गर्ने गरी कृषिक्षेत्रमा विदेशी लगानी ल्याउन दिइने व्यवस्था गरेको थियो ।
उक्त ऐनमा पशुपन्छी, माछा, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय लगायत क्षेत्रमा विदेशी लगानी ल्याउन नमिल्ने त्यसअघिको व्यवस्थालाई संशोधन गर्दै सरकाले कम्तीमा ७५ प्रतिशत निकासी गर्ने व्यवसायमा विदेशी लगानी ल्याउन मिल्ने व्यवस्था गरेको थियो । सरकारले गरेको यस्तो प्रावधानविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
वि.सं.२०७९ माघ २७ ०६:५०




















