back
stc
prabhu insurance
nabil

काठमाडौँ महानगरपालिकाले अबदेखि एकै ठाउँबाट सबै सेवा प्रवाह गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै अबदेखि एकै ठाउँबाट सबै सेवा प्रवाह गर्ने भएको छ । त्यसका लागि काठमाडौँ प्लाजा बहालमा लिन काठमाडौँ महानगरपालिका र नेपाल ट्रस्टबीच सम्झौता भएको छ । अहिले महानगरले विभिन्न दस स्थानमा विभिन्न विभागको स्थापना गरी सेवा प्रदान गर्दै आएको छ ।

नेपाल ट्रस्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रस्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । करिब पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको साततले भवनमा महानगरको सबै कार्यालय एकै ठाउँमा हुनेछन् ।

हस्ताक्षरपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल स्थानान्तरण गर्न निर्देशन दिनुभयो । सेवा अवरोध नगरी आफ्नो जिम्मेवारीमा रहेका विभागलाई सार्दै जाने योजना रहेको अधिकारीको भनाइ छ ।

सम्झौताबमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ । झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले बहाल रकमबाट कटाउनेछ । यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ । बाहिरी संरचनामा कुनै हेरफेर गरिने छैन ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवनभित्र यसअघि सञ्चालनमा रहेका निरमाया दोहोरी र राज घराना भने सिलबन्दी गरिएको छ ।

ट्रस्टसँगको बहाल लेनदेन नमिलेपछि सिलबन्दी गरिएका यी ठाउँ प्रयोगमा नआएसम्म महानगरले भाडा कटाउने छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र दुई सयवटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ ।

२०७२ को भूकम्पअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यालय सुन्धारामा छ । त्यसैगरी वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न दस स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।