सीजीफिन्कोले पूरा गर्यो २० वर्ष
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्र्ष पूरा गरेको छ । उक्त अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुप्रति विशेष सम्मान व्यक्त गरेको छ ।
२०औं वार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनीको सफलताको आधार ग्राहकहरुलाई जाने भन्दै विशेष सम्मान व्यक्त गरेका हुन् ।
अध्यक्ष चौधरीले सीजीफिन्को नेपालमा वैदेशिक मुद्रा भित्र्याउने जिम्मेवारीमा अब्बल सावित हुँदै आएको र विदेशमा रहेका नेपालीहरुका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा सन्तोष व्यक्त गरेका छन् ।
२० वर्ष अघि सीजीफिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रुपान्तरण गरेको र आज विप्रेषण नै नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको चौधरीले बताए ।
कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदरपत्र पनि प्रदान गरेको थियो । २००३ मा स्थापित सीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ ।
देशभर १०० वटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिले चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ ।
वि.सं.२०७९ चैत १५ ०७:२४


















