अरबौ घाटा सहेर पनि नियमित पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आयल निगम
काठमाडौं । नेपाल आयल निगमले गत चैत्र २० गतेदेखि लागू हुने गरि पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। गत चैत्र २० गते बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा पेट्रोलमा ३ रूपैयाँ, डिजेल,मट्टीतेल र आन्तरिक हवाइ इन्धन मुल्यमा प्रति लिटर १० रुपैयाँसम्म मूल्य घटाउने निर्णय गरि आफुले घाटा खाएर भएपनि आम उपभोक्तामा राहत प्रदान गरेको छ।
अन्तराष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मुल्यमा आएको उतारचढावले विगत लामो समयदेखि सञ्चिति नोक्सानीमा सञ्चालित हुँदै आएको निगमले यस पटक भने मूल्य घटाएर आम उपभोक्तालाई राम्रो राहत प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य केही घटेको भएतापनि निगमको विगतको नोक्सान अत्याधिक भएकाले घटेको मूल्य अनुपात अनुसार मूल्य घटाउन नसकेपनि सकेसम्म उपभोक्तालाई राहत पाउने गरि निरन्तर मूल्य घटाएर भएपनि देशभरि सर्वसुलभ रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउदै आएको छ।
निगमको पछिल्लो नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रू.१७५, डिजेलमा र मट्टितेलमा प्रतिलिटर रू.१६५, हवाइ इन्धन (आन्तरिक) मा प्रतिलिटर रू. १६०, हवाइ इन्धन (बाह्य) प्रतिलिटर १.३५० अमेरिकी डलर र एल. पी. ग्यास प्रतिसिलिन्डर रू.१८०० कायम भएको छ।
यो मुल्यमा निगमलाई एलपी ग्याँस प्रतिसिलिन्डर रू.५४५ घाटा भएपनि मूल्य नबढाइ पुरानै मुल्यलाई निरन्तरता दिएको छ । पेट्रोल,डिजेल,मट्टीतेल र हवाई इन्धनमा यति धेरै मूल्य घटेको यो पहिलो पटक हो। हवाई इन्धनमा पनि आन्तरिक र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १०/१० रुपैयाँ घटाइएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १ २०२३ मा नयाँ मूल्यसूची पठाएको थियो। नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर रू.१.८६ र डिजेलमा रू.६.८२ पैसा घटेर आएको थियो।
आईओसीले मार्च १५,२०२३ मा पठाएको मूल्यमा पेट्रोलमा रू. ०.८६ पैसा र डिजेलमा रू. १.५० घटेर आएको थियो। अन्तर्राष्ट्रिय बजारमा बैंकिङ क्षेत्रमा देखिएको मन्दी र समस्याका कारण कच्चा तेलको खपतमा कमी आएको र त्यसले मूल्यमा गिरावट ल्याउँदै आएको छ ।
खपत कम हुँदा पनि पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमले जनाएको छ ।
निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिद बापत आईओसी र नेपाल सरकारको ऋण गरेर १७ अर्ब बक्यौता रहेकोमा ३ अर्ब बक्यौता र ऋण तिरेर अब आइओसीको बक्यौता र नेपाल सरकारको ऋण गरि कुल १४ अर्ब रूपैयाँ बाँकी रहेको निगमले जनाएको छ ।
निगमलाई आईओसीको बक्यौता र सरकारको ऋणको व्यवस्थापन गर्न अझ अनेकौं चुनौती रहेको यो अवस्थामा समेत निगमले आम उपभोक्ताहरूलाई सस्तो र सहज रूपमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने व्यवस्था मिलाएर आपूर्ति व्यवस्था सहज बनाएकोमा नेपाली जनता र आम उपभोक्ताले निगमका अध्यक्ष, सञ्चालकहरू, उच्च व्यवस्थापक र निगमका आम कर्मचारी वर्गहरूलाई धन्यवाद दिनु पर्दछ।

वि.सं.२०७९ चैत २९ ०७:१०




















