back
stc
prabhu insurance

महानगर क्षेत्रमा दैनिक ३ सय वृक्षरोपण स् १० हजार रोपियो, एक महिनाभित्र ९० हजार रोपिसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६ गते करिब ५ सय बिरुवा रोपेर हरियाली अभियान शुरू गरेको महानगरले हालसम्म १० हजार वृक्षरोपण गरिसकेको छ । कामपाले पहिलो चरणमा सधैं हरियो भइरहने धुपी, समी र कपुरको बिरुवा रोपेको छ ।

कामपा उद्यान तथा हरियाली आयोजना प्रमुख नवराज थापाले नेपाल समाचारपत्रसँग कुरा गर्दै हालसम्म १० हजार वृक्षरोपण गरिसकेको र असारभित्र ९० हजार बिरुवा रोपिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘राम्रोभन्दा पनि सधैं हरियो भइराख्ने भएकोले तीन प्रकारका बिरुवा रोप्न शुरू गरेका हौं ।’ उहाँका अनुसार साउन लागेपछि विभिन्न प्रकारका मौसमी फूलका विरुवा रोप्ने कार्यक्रम छ ।

कामापाले हालसम्म सडक किनार, खाली क्षेत्र र पार्कमा वृक्षरोपण गरेको छ । कोटेश्वरदेखि तीनकुने पेट्रोलपम्प, त्रिपुरेश्वरदेखि कालीमाटी, शंखधर पार्क र रत्नपार्क, खुलामञ्च लगायतका क्षेत्रका सडक किनार र खाली क्षेत्रमा वृक्षरोपण गरेको हो । कामपाले ३५ वटै वडालाई वृक्षरोपण गर्नका लागि खुलाक्षेत्र, पार्क र बगंैचा पहिचान गर्न पत्राचार गरेको छ ।

वडा कार्यालयले गरेको सिफारिसको आधारमा कामपाको टोलीले वृक्षरोपण गर्नेछ । महानगरले धोवीखोला, इच्छुमति, रुद्रमती, विष्णुदेवी, वागमतीलगायत उपत्यकाभित्र भएर बग्ने खोला किनारामा वृक्षरोपण गर्ने जनाएको छ ।

नदी किनार र पार्कबाहेक भीआइपी क्षेत्र, सडकलगायत स्थानमासमेत वृक्षरोपण गर्नेगरी तयारी थालेको जानकारी दिँदै विभागीय प्रमुख थापाले भन्नुभयो–‘पुष्पविज्ञ र वैज्ञानिकले सिफारिस गरेको वृक्षरोपण गर्नेगरी तयारी भइरहेको छ ।

विज्ञले उपत्यकामा धुपी, समी, कपुर, काब्रो, लप्सी, सिमल, पैयुँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ, कोइराला, तेजपत्ता, स्वामी, पिपलजस्ता बिरुवा सिफारिस गरेका छन् ।’ यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित हुनुको साथै जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने भएकोले विज्ञहरूले बताएका छन् ।

शहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउन वृक्षरोपण शुरू गरिएको मेयर बालेन्द्र साहको भनाइ थियो ।

उहाँले भन्नुभयो– ‘चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट विरुवालाई जोगाउने योजनाअनुरूप रैथाने (इडेमिक) र प्राकृतिक  रूपमा उम्रने (इन्डिजेनियस) बोट बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’

शहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षरोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोट बिरुवाले पूरा गराउन सक्छन् । वर्षा याममा बिरुवा सार्न र बचाउन सकिने भएकोले यही मौसममा धेरै बिरुवा रोप्ने कामपाको योजना छ ।

यससँगै ट्राफिक आइल्यान्डहरूमा मौसमी पूmलहरू रोपिनेछन् । हाल रोपिएका बिरुवाको वडा र महानगरको वातावरण व्यवस्थापन र हरियाली प्रबद्र्धन विभागले संरक्षण गर्नेछन् ।

यसअघि कामपाले ‘हरित विद्यालय’ अभियान शुरू गरेको थियो । कामपाले स्कुल, कार्यालय, सडक र पार्कलगायत सबै स्थानमा वृक्षरोपण गर्ने तयारी थालेको छ ।

कामपाभित्रका ९० वटा सामुदायिक र ५४ वटा संस्थागत विद्यालयमा वृक्षरोपण कार्यक्रम जारी रहेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।