back
stc
prabhu insurance

अखाद्य सामग्री बिक्री गर्ने लाजिम्पाटको आकाश फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्स पसललाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि एक लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।

सात दिनभित्र एनआईसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जरिबाना बापतको रकम जम्मा गरी बैङ्क भौचरको दोस्रो प्रति महानगरपालिकामा पेस गर्न पनि निर्देशन दिइएको छ । तोकिएको समयभित्र जरिबाना बापतको रकम नबुझाए थप कारबाही हुने महानगरपालिकाले जनाएको छ ।

यसैबीच, महानगरपालिकाको वडा नं ६ बौद्धका गोकुलबहादुर बुढाथोकीलाई पनि ५० हजार रुपैयाँ जरिबाना तिराइएको छ । सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि बुढाथोकीलाई जरिबाना तिराइएको हो।

पछिल्लो समय कामपाले आफ्नो अधिकार क्षेत्रभित्रमा ठाउँमा जथाभाबी फोहर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको छ ।