back
prabhu insurance
himalayanlife

दस वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा

काठमाडौँ । असार महिनामा १० वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा जाने भएका छन् भने पाँच वटाको अस्तित्व सकिने भएको छ ।

गत आइतबार अर्थात् असार २४ गते साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

यता असार १ गते शुक्रबारदेखि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ ।

मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेडले शुक्रबारदेखि एकीकृत कारोबार शुरु गर्दै छन् भने नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि शनिबारदेखि एकीकृत कारोबार सुरु गर्दै छन् ।

यस्तै विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर आगामी आइतबारदेखि एकीकृत कारोबार हुने भएको छ ।

मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेडले शुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

लक्ष्मी बैङ्क र सनराइज बैङ्क एक–आपसमा गाभिई ‘लक्ष्मी सनराइज बैङ्क लिमिटेड’ कायम हुने नेपाल राष्ट्र बैङ्कले जारी गरेको मर्जरसम्बन्धी सार्वजनिक सूचनामा उल्लेख छ ।

राष्ट्र बैङ्क सञ्चालक समितिको निर्णय अनुसार लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेड एकआपसमा गाभिई साबिकका संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा हुन लागेको हो ।

आगामी असार २९ गते शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैङ्क लिमिटेड’ को नामबाट सञ्चालन गर्न लागेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभ्नेरगाभिने (मर्जर) तथा (प्राप्ति –एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९) को विनियम ११  को  उपविनियम (७) बमोजिम मर्जर प्रक्रिया पूरा भएको पनि राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि शनिबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ ।

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त एकआपसमा गाभिई ‘नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम हुने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कको सञ्चालक समितिको निर्णय अनुसार इजाजतपत्रप्राप्त संस्थाहरू नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिई साबिकका संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मिति २०८० असार ३० गते शनिबारदेखि ‘नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सञ्चालन हुने भएको छ ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर आगामी आइतबारदेखि एकीकृत कारोबार हुने भएको छ ।

विजय लघुवित्त र नयाँ सारथि एकआपसमा गाभिई ‘विजय लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम हुने नेपाल राष्ट्र बैङ्कले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

राष्ट्र बैङ्कबाट इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०८० जेठ मसान्तमा ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा रहेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घट्दो क्रममा रहे पनि यिनका शाखाको सङ्ख्या भने बढ्दो क्रममा छ । बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकामा २०८० जेठ मसान्तमा ११ हजार ५८३ पुगेको छ ।

त्यस्तै २०८० जेठसम्म कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैङ्कका शाखा विस्तार भएका छन् । २०७९ जेठसम्म ७५० स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा विस्तार भएका थिए ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।