back
prabhu insurance
himalayanlife

निर्यातभन्दा आयात दस गुणा बढी

काठमाडौँ । नेपालबाट एक रुपियाँको वस्तु निर्यात हुँदा १० रुपियाँ बराबरको वस्तु आयात हुने पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० भरको तथ्याङ्क अनुसार आयात र निर्यातको अनुपात १०.२६ पुगेको हो ।

त्यसअघिको आवको तुलनामा आयातसँग निर्यातको अनुपात झन् फराकिलो बनेको हो अर्थात् २०७८/७९ मा एक रुपियाँको वस्तु  निर्यात  हुँदा नौ  रुपियाँ ६० पैसाको वस्तु आयात भएको देखिन्छ । आयातको तुलनामा निर्यातको हिस्सा घट्दा गत आवमा आयातसँगको अनुपात बढेको तथ्याङ्कले देखाउँछ ।

तीन खर्बले घट्यो आयात

गत आर्थिक वर्ष २०७९/८० मा वस्तु आयात करिब तीन खर्बले रुपियाँले घटेको छ । समीक्षा अवधिको साउनदेखि पुस मध्यसम्म केही वस्तुको आयातमा प्रतिबन्ध कायम रहे पनि कुल आयातमा त्यसको योगदानभन्दा बढी नै आयात घटेको पाइएको छ ।

व्यापारविज्ञ एवं पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले समग्र व्यापार सङ्कुचन हुनु अर्थतन्त्रमा राम्रो नभए पनि व्यापार घाटा घट्नु सकारात्मक भएको बताउनुरभयो ।

सरकारले आयातमा गरेको कडाइका कारण आयातमा कमी आएको हो, यो अप्रत्याशित होइन । वनस्पति  तेलको आयात र इन्धनको खपत कम हुँदा समग्र आयातमा कमी भएको उहाँको भनाइ छ ।

आयातको तुलनामा निर्यात धेरै घट्नु त्यति राम्रो नभएको बताउनुभयो । अघिल्लो वर्ष भारतमा पाम तेल निर्यातको हिस्सा उच्च थियो, गत वर्ष भारतले पाम तेल, सनफ्लावर तेल, भटमास तेल भन्सार महसुल घटाउँदा निर्यातमा उल्लेख्य गिरावट आई समग्र निर्यातमा कमी आएको उहाँको भनाइ छ ।

कच्चा पदार्थ आयात गरेर प्रशोधन निर्यात गर्ने वस्तुको निर्यातमा उलेख्य कमी आए पनि स्वदेशी उत्पादन अलैँची चिया निर्यात बढेको उहाँको भनाइ छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवमा १६ खर्ब ११ अर्ब रुपियाँको वस्तु आयात भएको छ ।

आव २०७८/७९  को  तुलनामा यो १६.०८ प्रतिशत अर्थात्  करिब तीन खर्ब चार अर्ब रुपियाँले कम हो । उक्त आवमा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड रुपियाँको वस्तु आयात गरेको थियो ।

जुन् हालसम्मकै उच्च हो । त्यस्तै गत आवमा निर्यात व्यापार पनि २१.४४ प्रतिशतले खुम्चिएर एक खर्ब ५७ अर्बको आसपासमा रहेको छ ।

त्यसअघि आव २०७८/७९ मा निर्यात दुई खर्ब नाघेको थियो । निर्यातको उक्त आकार पनि नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

समग्र व्यापार नै खस्कियो

गत आवमा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको छ । आयात र निर्यात दुवै घट्दा समग्र व्यापार १६.५८ प्रतिशतले घटेर १७ खर्ब ६८ अर्ब रुपियाँमा सीमित भएको छ ।

त्यसअघि २०७८/७९ मा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार २१ खर्ब २० अर्ब नाघेको थियो । एक वर्षकै अन्तरमा कुल व्यापार तीन खर्ब ५२ अर्ब रुपियाँले घटेको हो ।

दैनिक चार अर्ब व्यापार घाटा

व्यापारमा निर्यातको हिस्सा कम हुँदा गत आवमा नेपालले दैनिक चार अर्ब रुपियाँ बराबरको व्यापार घाटा बेहोर्नु परेको पाइएको छ ।

गत आवमा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपियाँ नाघेको छ । कुल व्यापार घाटालाई एक वर्षको अनुपातसँग गणना गर्दा दैनिक घाटा चार अर्ब हाराहारी पुग्ने देखिन्छ ।

१३७ मुलुकसँग व्यापार घाटा

नेपालले आर्थिक वर्ष २०७९/८० मा विभिन्न १७१ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । व्यापार गरेका देशमध्ये ३४ वटा मुलुकसँग व्यापार नाफामा रहेको छ ।

व्यापार भएका देशमध्ये १३७ मुलकमा व्यापार घाटा रहेको छ । आयात बढ्दै गए पनि निर्यात बढ्न नसक्दा अधिकांश मुलुकसँग नेपालका वैदेशिक व्यापार घाटामा रहेको छ ।

व्यापार नाफा भएका देशमा अफगानस्थान, अल्जेरिया, एङ्गोला, अजरबैजान, कम्बोडिया, आइसल्यान्ड, कङ्गो, डेनमार्क, फिजी, माल्टा, मरक्को, पोचुगल, रुवान्डा, उरुगे, यमन, अमेरिकालगायतका देशमा व्यापार नाफा रहेको छ ।

चीनमा निर्यात बढ्न सकेन

यसैबिच भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो चार वर्षमा छिमेकी मुलुक चीनबाट आयात बढ्दै गए पनि निर्यात भने बढ्न सकेको छैन ।

भन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब २२ अर्ब ७१ करोड ५९ लाख ३३ हजार रुपियाँको आयात भएकामा निर्यात भने एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको निर्यात भएको छ ।

सो अवधिमा आयात बढ्दै गए पनि निर्यात बढ्न नसक्दा दुई खर्ब २० अर्ब ९५ करोड १४ लाख व्यापार घाटा रहेको छ ।

आव २०७८/७९ मा दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपियाँको आयात हुँदा ८० करोड ८७ लाख ५४ हजार रुपियाँको निर्यात भएको थियो ।

आव २०७७/७८ मा दुई खर्ब ३३ अर्ब ९२ करोड ३० लाख ६० हजार रुपियाँको आयात हुँदा एक अर्ब एक करोड ६० लाख ५७ हजार रुपियाँको सामान निर्यात भएको थियो ।

यस्तै आव २०७६/७७ मा एक खर्ब ८१ अर्ब ९२ करोड ३० लाख रुपियाँको आयात हुँदा एक अर्ब १९ करोड ११ लाख ८१ हजार रुपियाँको स्वदेशी वस्तु निर्यात भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।