back
prabhu insurance
himalayanlife

सरकारले चिनीको कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बिक्री गर्नेलाई कारबाही गर्ने सुरु

काठमाडौँ । सरकारले चिनीको कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बिक्री गर्नेलाई कारबाही गर्ने सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले शनिबार चिनीको कृत्रिम अभाव सिर्जना गरेर प्रतिकेजी १६० रुपियाँ लिने दुई वटा पसललाई कारबाही गरेको हो ।

विभागका निर्देशक आनन्दराज पोखरेलले बजारमा चिनी पर्याप्त आइसकेकाले प्रतिकेजी चिनीको ११५ रुपियाँभन्दा बढी लिनेलाई कानुन अनुसार कारबाही गरिएको जानकारी दिनुभयो ।

नेपाली उद्योगीसँग विभिन्न पेय पदार्थ उत्पादन कम्पनीले खरिद गरेर राखेको छ हजार मेट्रिक टन चिनी देशभरका बजारमा गइसकेकाले अब अभाव नहुने उहाँको भनाइ छ । बजारमा पर्याप्त चिनी आइसकेको र अब पनि विभिन्न बहाना बनाएर महँगो लिएमा कारबाही हुने निर्देशक पोखरेलको जानकारी दिनुभयो ।

चिनीको कालो बजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको नेपाल प्रहरीले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको सरोकारवालाको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय गरिएको थियो ।

सो बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेस्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ ।

विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।

यसै गरी भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउने प्रक्रिया सुरु भइसकेको छ, विभागका निर्देशक पोखरेलले जिटुजीमार्फत चिनी ल्याउने प्रक्रिया अगाडि बढेकाले यही साता चिनी ल्याउन भरपुर प्रयास भएको जानकारी दिनुुभयो ।

उक्त चिनी नेपालमा रहेका साल्ट ट्रेडिङ र खाद्य व्यवस्था व्यापार कम्पनीमार्फत बिक्रीवितरण गरिने छ । शनिबार र आइतबार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने उहाँको भनाइ छ ।

चाडपर्वको मौका छोपेर केही व्यापारीले चिनी लुकाएको आशङ्का गरी सरकारले चिनीका गोदाममा छापा मार्न प्रहरीलाई निर्देशन दिइसकेको छ । यस्तै चिनीको अभाव हटाउन उद्योगीसँग मौज्दातमा रहेको चिनी पनि बजार पठाउन थालिएको जनाइएको छ ।