back
stc
prabhu insurance

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभाग कर्मचारी पक्राउ

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालयबाट एक जना कर्मचारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई पक्राउ गरेको हो।

यसअघि व्युरोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल, यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट पक्राउ परेका थिए।

विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ। पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो।

सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम’मा चलखेल गरी लाइसेन्स जारी भएको पाइएपछि यातायात व्यवस्था विभागका आइटी प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा छानबिन गरिएको थियो।