back
prabhu insurance
himalayanlife

कास्कीमा अनलाइनबाटै नागरिकता सिफारिस गर्ने प्रणालीको शुभारम्भ

कास्की । कास्कीमा अनलाइन मार्फत नागरिकताका लागि सिफारिस गर्ने प्रणालीको शुभारम्भ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको समन्वय तथा सहजीकरणमा हिजो शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रमका बीच उक्त प्रणालीको शुभारम्भ गरिएको हो ।

जस अन्तर्गत पहिलो सेवाग्राही अन्नपूर्ण गाउँपालिका२, सेराचौर निवासी सुरक्षा अधिकारीको नागरिकताका लागि सिफारिस भएको छ । आगामी एक महिनाभित्र जिल्लाका पाँचै पालिकामा यो सेवा पुर्‍याउने लक्ष्य प्रशासनले राखेको छ ।

सेवा सुरु भएसँगै नागरिकताका लागि स्थानीयलाई थप सहज हुने कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । उहाँले पालिकाबाट इन्ट्री गरिएको सम्बन्धित व्यक्तिको विवरण जिल्ला प्रशासनमा पुग्ने र नागरिकता प्राप्तिको प्रक्रिया नै छोटिने उल्लेख गर्नुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले पहिलो पटक शुक्रबार अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक सुनुवाई गरेको छ ।

जसमा जिल्ला स्थित ३१ विषयगत कार्यालयमा प्रमुख एवम् प्रतिनिधिले पछिल्लो एक वर्षमा कार्यालयबाट  सम्पादन  भए  गरेका विकास निर्माण तथा सेवा प्रवाहका बारेमा जानकारी गराउनुभयो ।

सुनुवाईका क्रममा स्थानीयवासीले अन्नपूर्णका क्रमागत योजनामा यसपटक बजेट घटेको, पालिकामा एम्बुलेन्स आवश्यक रहेको, अन्नपूर्ण क्यान्सर अस्पताल निर्माण कार्य अलपत्र परेको, प्राविधिक तथा ठेकेदारको मिलेमतोमा बजेट कार्यान्वयन हुने गर्दा गुणस्तर खस्कने गरेको, सडक भासिएर विभिन्न बस्ती जोखिममा परेको, मालपोत कार्यालय भष्टचारको अखडा बनेको लगायत गुनासो राख्नुभयो ।

मुख्य जवाफदेही प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीयका माग जायज रहेको बताउनु हुँदै सम्बोधन गर्न अधिकत्तम प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।