back
stc
prabhu insurance

कुमारी फोनेपे क्रेडिट कार्ड सार्वजनिक, क्यूआरमार्फत भुक्तानी हुने

काठमाडौँ । डिजिटल भुक्तानी सञ्जाल फोनेपेले कुमारी बैंक लिमिटेडसँगको साझेदारीमा ‘कुमारी फोनेपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । फोनेपे क्रेडिट कार्ड योजना अन्तर्गत जारी गरिएको यो भर्चुअल क्रेडिट कार्ड कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कुमारी बैंकका ग्राहकका लागि उपलब्ध छ ।

कुमारी फोनेपे क्रेडिट कार्ड पूर्ण रूपमा डिजिटल सेवा हो । यसले प्रयोगकर्तालाई देशभर रहेका फोनेपे क्यूआर मर्चेन्टहरूमा स्क्यान गरेर भुक्तानी गर्न सक्षम बनाउँछ ।

यस कार्डले परम्परागत क्रेडिट कार्डका सुविधाहरू ४५ दिनसम्मको ब्याजमुक्त अवधि र लचिलो किस्ताबन्दी सुविधालाई क्यूआर भुक्तानीको सहजता र सुरक्षासँग जोडेको छ । यसले भौतिक कार्डको आवश्यकता पूर्ण रूपमा हटाएको छ ।

यस अवसरमा कुमारी बैंकले ५० प्रतिशत क्यासब्याक (अधिकतम ५०० रुपैयाँसम्म) को विशेष अफर ल्याएको छ । यो अफर कुमारी फोनेपे क्रेडिट कार्ड मार्फत गरिएका कारोबारहरूमा सीमित अवधिका लागि लागु हुनेछ ।

अफरले क्यूआर–आधारित क्रेडिट भुक्तानीलाई प्रवर्द्धन गर्दै प्रयोगकर्तालाई दैनिक खर्चमा बचत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले भने, “कुमारी बैंक फोनेपे क्रेडिट कार्ड नेटवर्कमा आबद्ध भएपछि हामीले हाम्रो पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गरेका छौं ।

यसले प्रयोगकर्ताहरूलाई तत्काल, सुरक्षित र सजिलै भर्चुअल क्रेडिट पहुँच दिन सक्षम बनाएको छ । पूर्ण रूपमा भर्चुअल यो कार्ड क्रेडिटलाई सबै नेपालीका लागि सहज र समावेशी बनाउने दिशामा महत्त्वपूर्ण कदम हो । हाम्रो लक्ष्य डिजिटल युगका लागि क्रेडिटलाई पुर्नपरिभाषित गर्नु हो, जहाँ क्रेडिट कार्ड प्राप्त गर्नु स्क्यान गरेर भुक्तानी गर्नुजत्तिकै सजिलो हुन्छ ।”

यससँगै कुमारी बैंक फोनेपेको भर्चुअल क्रेडिट समाधान अपनाउने वित्तीय संस्थाहरूको बढ्दो सूचीमा थपिएको छ । यो साझेदारीले नेपालको डिजिटल बैंकिङ भविष्यलाई अझ स्मार्ट, सुरक्षित र समावेशी बनाउने संकेत दिन्छ ।

साझेदारीको उद्देश्य डिजिटल क्रेडिट पहुँचलाई अझ आधुनिक बनाउँदै प्रयोगकर्ताहरूलाई सहज, सुरक्षित र भरपर्दो भुक्तानी अनुभव प्रदान गर्नु हो । फोनेपे क्रेडिट कार्ड हाल सिटिजेन बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक र कुमारी बैंकमा उपलब्ध छ ।