back
stc
prabhu insurance

११ महिनामा १५ खर्ब बढीको रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको छ। केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा प्रकाशित तथ्यांकअनुसार जेठ मसान्तसम्ममा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो। २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।

खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।