back
stc
prabhu insurance

कम मूल्यमै टिकट उपलब्ध छ: वायुसेवा सञ्चालक सङ्घ

काठमाडौं । नजिकिएको दसैँमा हवाई यात्रुलाई महँगो भाडा लिएको भन्ने गुनासो आइरहेका बेला हवाई सेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक सङ्घले कम मूल्यमै हवाई टिकट उपलब्ध गराइएको दाबी गरेको छ ।

सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा हवाई कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडदारभन्दा कम मूल्यमानै टिकट उपलब्ध गराई रहेको स्पष्ट पारिएको छ ।

बडादसैँ, तिहार, तथा छठ पर्वको अवसर पारेर यात्रुसँग बढी हवाई भाडा दर लिएको भन्नेतर्फ सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले कम मूल्यमै टिकट उपलब्ध गराइएको र अब जारी गर्ने टिकट पनि कम मूल्यमा नै उपलब्ध गराउने निर्णय भएको उल्लेख गरेको छ ।

यही असोज ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारी तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारी सम्मिलित बैठकमा भएको छलफल बमोजिम वायुसेवा कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडदारभन्दा कम मूल्यमानै टिकट उपलब्ध गराउने निर्णय भएको सङ्घले जनाएको छ ।

साथै हाल दुर्गम क्षेत्रमा उडानको चाप त्यति नभएको र उक्त क्षेत्रको हवाई भाडा दर पनि एउटै रहेकाले सोही बमोजिम नै भाडा दर लिई उडान गरिरहेको पनि सङ्घले स्पष्ट पारेको छ ।