सिटिजन्स बैंकको नाफा ३५.८२ प्रतिशतले बढ्यो
काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकको नाफा ३५.८२ प्रतिशतले बढेर १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ९६ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३८.६१ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । साथै, चुक्तापूँजी १४ अर्ब ७६ करोडबाट बढेर १५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष सञ्चिति ७ अर्ब ४० करोडबाट बढेर ९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
यसअवधिमा बैंकको खराब कर्जा सामान्य बढेको छ । बैंकको खराब कर्जा ५.७१ प्रतिशतबाट बढेर ६.८२ प्रतिशत पुगेको छ ।
साथै, बैंकको प्रतिशेयर आम्दानी ८.६८ रुपैयाँबाट बढेर ११.२३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५५.९९ रुपैयाँ पुगेको छ ।
वि.सं.२०८३ वैशाख १५ ०७:४४



















