ज्योति विकास बैंकको नाफा १० गुणाले बढ्यो
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफा १० गुणाले वृद्धि भएको छ भने वितरणयोग्य मुनाफा ऋणात्मकबाट धनात्मक भएको छ ।
अघिल्लो आर्थिक वर्षमा १० करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा ९०५.७५ प्रतिशतको उछाल सहित १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड ५३ लाख रुपैयाँबाट ११.७७ प्रतिशतले बढेर २ अर्ब ३४ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी बैंकको खुद फी तथा कमिसन आम्दानी १६ करोड २९ लाख रुपैयाँबाट २८ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ४७ करोड ६ लाख रुपैयाँबाट २ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
आम्दानी बढेपछि बैंकको सञ्चालन मुनाफा पनि ३८ करोड ९८ लाख रुपैयाँबाट ३६०.१५ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ३७ लाख रुपैयाँ नाघेको छ । यता अघिल्लो आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा गत आवमा भने १४ करोड ४३ लाख रुपैयाँ धनात्मक भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी २.२८ रुपैयाँबाट बढेर २२.८८ रुपैयाँ पुगेको छ भने खराब कर्जा ७.७५ प्रतिशतबाट घटेर ६.६५ प्रतिशतमा कायम भएको छ । आधार दर ७.१२ प्रतिशतबाट ५.८९ प्रतिशतमा झरेको बैंकको कस्ट अफ फण्ड ३.७६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७०.९७ रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकको कर्जा प्रवाह ४५ अर्ब २३ करोड ५० लाख रुपैयाँबाट ४९ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँबाट ६७ अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
वि.सं.२०८३ साउन २१ ०८:२७




















