back
prabhu insurance
himalayanlife

सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै 

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ७ वर्षे विकास ऋणपत्रमार्फत एक हजार करोड रुपैयाँ आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको हो ।

कार्यालयका अनुसार ‘७ वर्षे विकास ऋणपत्र-२०९०’ भदौ ३ गते बोलकबोल मार्फत बिक्री गरिनेछ भने भदौ ४ गते ऋणपत्र निष्कासन हुनेछ । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन् ।

इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणाली मार्फत बोलकबोल पेश गर्न सक्ने कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।

सरकारले वर्षभरि ट्रेजरी बिल मार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्र मार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्र मार्फत ५ अर्ब रुपैयाँ तथा वैदेशिक रोजगार बचतपत्र मार्फत १ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।