back
prabhu insurance
himalayanlife

नोमाड बेसक्याम्प नेपाल’ आयोजना गरिँदै

कास्की । पोखरामा यही भदौ १६ देखि २२ गतेसम्म ‘नोमाड बेसक्याम्प नेपाल २०२६’ आयोजना हुने भएको छ । पोखरालाई दक्षिण एसियाकै प्रमुख ‘रिमोट वर्क’ तथा प्रविधि नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सो कार्यक्रम गर्न लागिएको मङ्गलबार आायोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कार्यक्रममा ३० देशका ३०० भन्दा बढी अन्तरराष्ट्रिय उद्यमी, ‘डिजिटल’ नोमाड, प्रविधि नवप्रवर्तक तथा सिर्जनाकर्मी सहभागी हुने आयोजकले जनाएको छ ।

सात दिनसम्म चल्ने कार्यक्रमले प्रविधि, कृत्रिम बुद्धिमत्ता ९एआई०, उद्यमशीलता, रिमोट वर्क र अन्तरराष्ट्रिय ‘नेटवर्किङ’लाई नेपाली प्रतिभा तथा पर्यटनसँग जोड्ने लक्ष्य राखेको नोमाड बेसक्याम्पका संस्थापक ड्यानी फ्लडले बताउनुभयो ।

उहाँका अनुसार अन्नपूर्ण हिमशृङ्खलाको काखमा आयोजना हुने सम्मेलनमा प्रविधिसम्बन्धी कार्यशाला, एआई तथा लगानीसम्बन्धी विशेष छलफल, अन्तरदेशीय नेटवर्किङ र सांस्कृतिक तथा साहसिक पर्यटनसँग जोडिएका कार्यक्रम सञ्चालन हुनेछ । “पोखरामा हुन लागेको दोस्रो संस्करणले स्थानीय प्रतिभा र युवा उद्यमीलाई विशेष प्राथमिकतामा राखेको छ । कर्पोरेट साझेदारको सहयोगमा विद्यार्थी तथा उदियमान नेपाली प्रविधि उद्यमीलाई सहभागी गराइनेछ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा जापानका चर्चित लेखक तथा ‘ह्याप्पी मनी’का लेखक केन होन्डा, सगरमाथा र विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने पहिलो प्यालेस्टिनी नागरिक मुस्तफा सलामेहलगायत सहभागी हुनुहुनेछ ।

फ्लडका अनुसार यस अभियानले पोखरा, काठमाडौँ र नेपालका अन्य क्षेत्रमा दीर्घकालीन आर्थिक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ । विदेशी डिजिटल नोमाड तथा रिमोट वर्करको बसाइ अवधि बढेसँगै होटल, रेस्टुरेन्ट, पर्यटन, यातायात तथा स्थानीय सेवा क्षेत्रमा पनि आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।