मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ ।
रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ) नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो ।
शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालको भनाइ छ ।
प्रमुख चुडालका अनुसार शुक्रबारमात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन् । रसुवागढीनाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उहाँले बताउनुभयो ।
चालु आव २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताउनुभयो । भदौ ९ गतेसम्म १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए ।
विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागिमात्रै बाह्रै महिना खुला गरिएको कोरलानाका गत वर्ष तातोपानी र रसुवागढीनाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो ।
भन्सार प्रमुख चुडालका अनुसार गत आव २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोडको राजस्व सङ्कलन गरेको थियो ।
त्यस वर्ष पैठारीतर्फ रु १४ अर्ब ४१ करोड र निकासीतर्फ रु २० करोड ५० लाखबराबरको मालवस्तुको कारोबार भएको थियो । गत वर्ष कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो ।
वि.सं.२०८३ भदौ २८ ०४:०९




















