back
prabhu insurance
himalayanlife

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिक साधारणसभा असोज २२ गते

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

बोनस शेयर वितरणपछि चुक्तापुँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५.७५ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव साधारण सभाले पारित गर्नेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ।