back
prabhu insurance
himalayanlife

नबिल,निफ्रा र गरिमा विकास बैंकको आजसम्म सेयरधनी बने लाभांश पाउन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेड,नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज १३ गते अन्तिम दिन रहेको छ।

यी तीनै बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि भोली असोज १४ गते बुक क्लोज गर्दैछन्। त्यसअनुसार आज असोज १३ गतेसम्म सेयर कारोबार भई कायम हुने सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै सम्बन्धित साधारण सभामा सहभागी हुन पाउनेछन्।

नबिल बैंकले ५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद लाभांश

नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत बोनस सेयर र १०।८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले ५ प्रतिशत बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा १०.८० प्रतिशत नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम प्रस्ताव गरेको छ।

दुवै लाभांशमा लाग्ने कर समेत समावेश छ। नबिल बैंकको ४२औँ वार्षिक साधारण सभा असोज २२ गते बिहीबार बिहान ९ः३० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब,भद्रकाली,काठमाडौंमा हुने घोषणा गरेको छ।

साधारण सभामा बैंकको अधिकृत पुँजी बढाएर ३४ अर्ब रुपैयाँ पुर्‍याउने,संस्थापक समूहबाट तीन जना सञ्चालक निर्वाचित गर्ने तथा मर्जर,एक्विजिसन वा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पेस हुनेछ।

निफ्रा: ५.२६३२ प्रतिशत नगद लाभांश

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ का लागि ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

उक्त रकममा लाभांश करसमेत समावेश छ। निफ्राको आठौँ वार्षिक साधारण सभा असोज २३ गते शुक्रबार बिहान ९ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बस्ने निर्णय भैसकेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि अर्थ मन्त्रालयको स्वीकृति प्राप्त गरी वितरण गरिने बैंकले जनाएको छ।

गरिमा विकास बैंक: १० प्रतिशत बोनस र १० प्रतिशत नगद

गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार २६७ रुपैयाँ २२ पैसा रहेको छ।

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारण सभा असोज २६ गते सोमबार बिहान १०ः३० बजे पोखराको बिरौटास्थित होटल पोखरा ग्राण्डमा आयोजना गर्ने निर्णय गरेको छ।

साधारण सभामा वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, अधिकृत पुँजी बढाएर ६ अर्ब ६५ करोड रुपैयाँ पुर्‍याउने तथा मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेका छन्।