दूरसञ्चार सेवाप्रदायक एनसेलले थ्रिजी सेवा पूर्ण रूपमा बन्द गर्ने
काठमाडौँ । दूरसञ्चार सेवाप्रदायक एनसेलले थ्रिजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ । कम्पनीले आगामी एक महिनाभित्र थ्रिजी बन्द गर्ने जनाएको छ ।
थ्रिजीका बाँकी रहेका ६८ प्रतिशत साइट पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु भएको कम्पनीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
कम्पनीका अनुसार थ्रिजीका कुल तीन हजार १२९ साइटमध्ये हालसम्म ९९२ वटा साइट बन्द भइसकेका छन् । बाँकी रहेका दुई हजार १३७ वटा साइटमा एक महिनाभित्र उक्त सेवा बन्द हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार चार चरणमा थ्रिजी बन्द हुने छ । जस अन्तर्गत पहिलो मङ्सिर ७ गते लुम्बिनी र गण्डकी प्रदेश, दोस्रो चरणमा मङ्सिर १४ गते काठमाडौँ, ललितपुर र भक्तपुरका तेस्रो चरणमा मङ्सिर २१ गते मधेश र गण्डकी प्रदेश र चितवनमा थ्रिजीका साइट बन्द हुने छ ।
चौथो तथा अन्तिम चरणमा मङ्सिर २६ गते मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा बाँकी रहेका सबै थ्रिजी साइट बन्द गरिने कम्पनीले जनाएको छ । एनसेलले २०७४ सालमा थ्रिजी सेवा सुरु गरेको थियो । जुन आगामी पुस २ गते पूर्ण रूपमा बन्द हुने छ ।
थ्रिजी बन्द भए पनि ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत उच्च गुणस्तरको भ्वाइस कल र छिटो कल कनेक्सनको सुविधाप्राप्त गर्ने कम्पनीले दाबी गरेको छ । भोल्टे प्रविधिबाट ग्राहकले भ्वाइस कल गर्दै एकै समयमा फोरजी डेटा पनि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले अनुसार पुराना प्रणालीको सञ्चालन र मर्मतसम्भार लागत घटाउने योजना अनुसार एनसेलले यस्तो निर्णय लिएको हो । थ्रिजी बन्द भएपछि फोरजीमा अपगे्रड हुन बाँकी रहेका ग्राकहलाई टुजी नेटवर्कमार्फत आधारभूत दूरसञ्चार सेवा भने निरन्तर हुने उहाँले बताउनुभयो ।
प्छिल्लो निर्णयले भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
थ्रिजी सेवा बन्द भएपछि उपलब्ध हुने फ्रिक्वेन्सीलाई फोरजी सेवा थप सुदृढ बनाउन, नेटवर्क क्षमता बढाउन र कनेक्टिभिटी सुधार गर्न पुनः प्रयोग गरिने एनसेलले उल्लेख गरेको छ ।
एनसेलको फोरजी यसअघि नै नेपालको करिब ९५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भइसकेको छ ।
हाल एनसेलका कुल सक्रिय ग्राहकमध्ये करिब पाँच प्रतिशतले अझै फोरजी सिम प्रयोग गरिरहेका छैनन् । कम्पनीले अझै थ्रिजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।
वि.सं.२०८३ मंसिर ४ ०७:२०




















