back
stc
prabhu insurance

कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न निर्देशन

काठमाडौँ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समितिका सभापति जयपुरी घर्तीले कोरोना भाइरसविरुद्धको खोप लगाएर भौतिक रूपमा नै परीक्षा गर्न निर्देशन दिनुभयो ।

त्यस अवसरमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसितको समन्वयमा दशैँअगावै भौतिक रूपमा नै परीक्षा लिने तयारी भइरहेको जानकारी दिनुभयो ।

कक्षा १२ को परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले प्रवेशपत्रका आधारमा हालै कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार विद्यार्थीले खोपको सुविधा पाएका हुन् ।

पढाइ सुरु, पाठ्यपुस्तक छैन
अघिल्लो वर्ष ११ कक्षामा उत्तीर्ण गरेर यस वर्ष कक्षा १२ मा भर्ना भएका विद्यार्थीको भर्चुअल माध्यमबाट पठनपाठन सुरु गरिएको छ तर आवश्यक पाठ्यपुस्तकको छपाइ कार्य भने अझै सुरु हुन सकेको छैन ।

विद्यार्थीको पठन–पाठन भदौ १ गतेदेखि सुरु गरिएको छ तर पुस्तक छपाइमा भने अझै केही साता लाग्ने देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा ११ का विद्यार्थीको आन्तरिक परीक्षालगायतको सबै प्रक्रिया पूरा गरी भदौबाट कक्षा १२ को पढाइ सुरु गर्न अनुमति दिएको थियो । यसपछि विद्यालयले कक्षा १२ को नयाँ पठन–पाठन सुरु गरेका हुन् ।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा १२ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तक छपाइ कार्य पूरा गरिएको जानकारी दिँदै अन्य विषयको भने छपाइको अनुमति नै पाउन बाँकी रहेको बताउनुभयो ।

कक्षा १२ का अङ्गे्रजी, सामाजिक अध्ययन र गणित विषय गरी तीनवटा अनिवार्य विषयको पाठ्यपुस्तक छपाइ सुरु हुन नसकेको जनक शिक्षाले जनाएको छ । कक्षा १२ मा यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अनप्रसाद न्यौपानेले छपाइ अनुमतिका लागि जनक शिक्षामा पठाउन केही समय लागेको उल्लेख गर्दै अब सबै काम पूरा हुने जानकारी दिनुभयो ।

छपाइका लागि पठाउन केही ढिला हुने भएकाले आफूहरूले अनिवार्य विषयको पाठ्यपुस्तक केन्द्रको वेबसाइटमा राखेको जानकारी उहाँले दिनुभयो ।

प्रविधिमा पहुँच भएका विद्यार्थी तथा शिक्षकलाई समेत उपयोगी होस् भन्ने उद्देश्यले पुस्तकलाई वेबसाइटमा राखिएको हो ।

यस पटक अनिवार्य विषयको मात्र पाठ्यपुस्तक छपाइ गर्ने सरकारको तयारी छ । अनिवार्यबाहेकका थप तीन विषयको पठनपाठन कक्षा १२ मा गरिन्छ ।

ऐच्छिक विषयको पुस्तकको छपाइ भने निजी क्षेत्रबाट हुने जनाइएको छ । पाठ्यक्रमबाट स्वीकृति लिएर निजी क्षेत्रबाट पुस्तक प्रकाशनका लागि अनुमति दिने गरिएको छ । आजको गोरखापत्र दैनिकबाट