back
hangrilabank
himalayanlife
stc

शेयर बजार अझै सुनिन सक्छ

काठमाडौं । पाइपलाइनमा रहेका केही कम्पनी र लिमिटेडका शेयर बजारमा आए र संस्थागत लगानीकर्ताको संख्या समेत बढ्यो भने नेप्से परिसूचक ३ हजारको रेसियोबाट बढेर ६ हजारको विन्दूमा पुग्न सक्छ।

किनभने अहिले विश्व बजारमा नै उधोग,व्यापार र सेवा क्षेत्रमा लगानी खुम्चिएको छ। अझै एक वर्ष ठुलो लगानी गर्ने अवस्था छैन। त्यसैले लगानीको क्षेत्र मानिसले चाहेर पनि वा नचाहेर पनि शेयर बजार नै हुने देखिन्छ।

बजारका लागि आवश्यक केही प्रडक्ट ल्याइयो र संस्थागत लगानीकर्ता तथा ब्रोकरको संख्या समेत थपेर बजारको दायरा बढाइएको खण्डमा नेप्से परिसूचक चाँडै ५ हजार ५ सय देखि ६ हजारको विन्दूसम्म सजिलै पुग्न सक्छ।

केही काम भएपछि नेप्से परिसूचक ६ हजारको विन्दुमा पुग्यो भने पनि त्यसलाई सुन्निएको मान्न मिल्दैन। त्यही भएर नेपालको सेयर बजारको भविष्य निकै उज्वल छ ।

केही अर्थशास्त्रीहरूले ३ हजार २ सय पुगेको नेप्सेलाई सुन्निएको भनेर टिप्पणी गर्दै आएका छन्। । उनीहरूले नेपालको सेयर बजार परिसूचक ७ सय देखि १ हजार ८ सय सम्म झर्नुपर्ने र त्यो मात्र स्वभाविक विन्दू रहेको दाबी गर्दै आएका पनि छन् ।

प्रविधिको विकास र बजार सुधारका धेरै कामहरुका कारण शेयरको माग उच्च भई बजार परिसूचक समेत दिनदिनै माथि माथि चढिरहेको छ । नेप्से अहिले जुन विन्दूमा छ, त्यसलाई कसैले सुन्निएको भन्छ भने त्यो हास्यास्पद हुन्छ ।

हिजो ५० वटा ब्रोकरमा सीमित बजारको पहुँच अहिले संसारभर पुगेको छ । सुधारका कामहरु पनि उत्तिकै भएका छन् । यस्तो बेलामा बजार बढेर ३ हजार २ सय विन्दुमा पुग्नु सामान्य हो । बजार अझै माथि जान्छ। लगानी कर्ताले ढुक्क भएर शेयर कारोवार गर्दा हुन्छ।

क्यापिटल मार्केटको उचाईलाई कसैले बढी या घटी भन्ने आधार नै हुदैन।भारतको इण्डेक्स ५८ हजार पुगिसक्यो, त्यो पनि सुन्निएकै हो त रु त्यसकारण नेपालको सेयर बजारको इण्डेक्स ३हजार २ सय सम्म पुगेर अहिले ३ हजारको हाराहारीमा पुग्नु वा रहनु पूर्ण रुपमा स्वभाविक देखिन्छ ।

यो बजारबाट सरकारले राजश्व पनि पाएको छ, लगानीकर्ताले पनि कमाएकै छन् । सबै कुरा स्वभाविक नै छ।

बढ्दो बजारमा कम्पनीको प्रतिफल हेरेर लगानीकर्ताले लगानी गर्नुपर्ने आवश्यकता भने छ। बजारको घटबढलाई आफ्नै लयमै हुन दिनुपर्छ।कुनै पनि निकायको निर्णयका आधारमा बजार घटबढ हुने भयो भने त्यो पारदर्शी बजार भएको मान्न सकिँदैन।

नेपाल राष्ट्र बैंकले १२ करोड र ४ करोडको सेयर धितोकर्जाको सीमा सम्बन्धी गरेको व्यवस्थातर्फ आफ्नो ठाँउमा ठिकै होला। तर बजारलाई स्वतन्त्र रुपमा आफ्नै लयमा कुद्न दिनुपर्छ । कसैले प्रभावित पार्नु हुँदैन । राष्ट्रबैंकले सेयर धितो कर्जाको सीमा एउटा बैंकबाट ४ करोड र पूरा प्रणालीबाट १२ करोड कायम गर्नु नीतिगत कमजोरी हो।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले पूँजीबजारमा लगानी गर्ने लिमिट नै फूल कन्जब्सन भएको छैन । यस्तो बेलामा सीमा तोक्नुहुन्न थियो । यदि कसैले एउटै बैंकबाट १२ करोड लिएको रहेछ भने ४ करोडमा झार्नुपर्ने भयो । उसँग अरु सम्पत्ति नभएपछि सेयर नै बेच्ने हो, ऊ सेयर बेच्नेतर्फ लाग्यो, जसका कारण सप्लाई बढी भएर बजार केही समय घट्न पुगेको हो ।

ठूला लगानीकर्ताले सेयर बेच्ने हतारो गरेका कारण अहिलेको अवस्था आएको हो भन्न सकिन्छ। ठूलाले बेच्ने हतारो गरे, सानाले नेप्से थाम्न सकेनन् ।

अहिलेको समस्या यही नै हो । २० अर्ब माथि पुगिसकेको कारोबार खुम्चिएर ७ अर्बमा झर्नुको कारण यही हो । कम्तीमा सीमाभित्र आफ्नो ऋणलाई झार्नका लागि डेढ वर्षको समय दिनुपथ्र्यो, एकै पटक सीमाभित्र झार्न गाह्रो हुन्छ,बजारमा ठुलो प्रभाव पर्छ।

व्यक्तिगत रुपमा लगानीकर्ताले लागत र लाभको तुलना गरेर राम्रा कम्पनीका सेयरमा छानी–छानी लगानी गर्नुपर्दछ।

बैंककोे ब्याजदर बढ्ने हल्लाका कारण समेत लगानीकर्ताको मनस्थिति बिग्रिएको छ। कतिपयले दशैं(तिहारजस्ता पर्वका लागि खर्चको जोहो गर्ने हतारो गर्दा समेत बजार घट्न सहयोग पुगेको छ। तर, लगानीकर्ता अत्तालिनुपर्ने अवस्था चाहिँ छैन ।

नेपालको सेयर बजारको भविष्य राम्रो छ । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको वित्तीय विवरणहरु पनि राम्रै आएका छन् ।

त्यसकारण बजार घट्यो भन्दैमा अत्तालिने अवस्था छैन । राम्रा कम्पनीको सेयर खरीद गरेर केही समयका लागि बस्दा राम्रो हुन्छ । शेयर खरिद गर्ने उपयुक्त समय नै अहिले हो ।

अरु देशमा २–३ प्रतिशतसम्म प्रतिफल आउँदा समेत लगानीकर्ता निकै खुशी हुने गरेका उदाहरण छन्। हाम्रो देशमा त सूचीकृत कम्पनीहरुले त्यो भन्दा कयौं गुणा बढी प्रतिफल दिन्छन् । त्यसकारण हाम्रो बजार माथि जान्छ, धैर्य गरौं ।

नेप्से परिसूचक अब धेरै तल जादैन। मलाई बजार अब धेरै तल आउँछ जस्तो लाग्दैन, क्रमशः बढ्दै जान्छ । तर अब मानिसहरुले राम्रा कम्पनी छान्न बढी केन्द्रीत हुनु पर्दछ। २–३ दिनको कारोबार विश्लेषण गर्दा समेत यही देखिदैछ ।

प्रतिसेयर आम्दानी (इपीएस) राम्रा, मूल्य आम्दानी अनुपात(पीई रेसियो) कम भएका कम्पनी छान्न लगानीकर्ताले सक्नु पर्दछ।

अब राम्रा र बलिया कम्पनीको सेयरमूल्य माथि जान्छ । क वर्गका बैंक, स्थापित बीमा कम्पनी,राम्रा विकास बैंक र फाइनान्स कम्पनी,सेवा,विधुत कम्पनी रोज्न सक्नु पर्दछ।

बजारमूल्य मात्र बढाइएका र इपीएस थोरै तथा पीई धेरै भएका र नयाँ बीमा,लघु वित्त कम्पनी र जलविधुत कम्पनीहरुको मूल्य घट्ने संभावना भने देखिन्छ। नरोत्तम सुबेदी