मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज चैत १६ गते बिहीबार अन्तिम दिन हो ।
बिहीबार बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जानकारी गराएको छ । मोदी इनर्जीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।
मोदी इनर्जीको आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने चैत ९ गतेसम्म आइपीओ बिक्री खुला भएको थियो । कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०५ अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो ।
यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा न।पा– ३, मोदी गा.पा वडा नं–५, २, ६ र कुश्मा न.पा–८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ ।
यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘आइआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।
वि.सं.२०७९ चैत १६ ०७:१०



















