सिरी ‘ए’ स् इन्टर मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी । साविकको विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा फियोरेन्टिनालाई ३–१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलान शीर्षस्थानमा उक्लिएको हो ।
इन्टर मिलानलाई जित दिलाउनको लागि माटियो डर्मिएन, इडेन जेको र इभान पेरिरिसले समान एक(एक गोल गरे । रिक्कार्डो सोट्टिलको गोल सान्त्वना बन्यो ।
खेलको २३औं मिनेटमा रिक्कार्डो गोल गर्दै घरेलु टोली फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा माटियो डर्मिएनले निकोलो बरेल्लाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसको तीन मिनेटपछि इडेन जेकोले गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए । ८७ औँ मिनेटमा इभान पेरिसिसले गोल गर्दै टोलीको जित पक्का गरे ।
यो जितसँगै अपराजित रहेको इन्टर ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । इन्टरले एक खेल कम खेलेको नेपोलीलाई १ अंकले तथा एसी मिलानलाई ३ अंकले पछि पारेको छ । पराजित फियोरेन्टिना ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
वि.सं.२०७८ असोज ६ ०९:०५