back
stc
prabhu insurance

नेपाल र भारत बीच साफ च्याम्पियनशीपको फाइनलमा भिडन्त हुने

काठमाडौं । नेपाल र भारतबीच साफ च्याम्पियनशीपको फाइनलमा भिडन्त हुने भएको छ । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनशीप अन्तर्गत हिजो सम्पन्न खेलमा नेपाल र भारतले आफू अनुकूल नतिजा निकाल्दै यही असोज ३० गते हुने फाइनलको यात्रा तय गरेका छन् ।

नेपालले हिजो सम्पन्न पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै फाइनलको यात्रा तय गरेको हो भने भारतले आयोजक राष्ट्र माल्दिभ्सलाई ३–१ गोलको जीत निकाल्दै अन्तिम दुईको यात्रा तय गरेको छ ।

नेपाल पहिलोपटक इतिहासमै साफ च्याम्पियनशीपमा फाइनलमा पुगेको छ भने भारत सात पटकको साफ च्याम्पियनशीप विजेता हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्णपदकका लागि भएको प्रतिस्पर्धामा नेपाल टाइब्रेकरमा ४–३ गोलले विजय भएको थियो ।

दक्षिण एशियाको पावरहाउस मानिने भारत विरुद्ध नेपालले पछिल्लो झन्डै डेढ महिनामा तीन खेल खेलिसकेको छ । गत भदौ १७ र २० गते दशरथ रंगशालामा यी दुई टोलीबीच मैत्रीपूर्ण खेल भएको थियो ।

पहिलो खेल १(१ गोलको बराबरीमा टुङ्गिएको थियो भने दोस्रो खेलमा भारत २(१ गोलले बिजयी भएको थियो । यसै संस्करणको असोज २४ गते भएको पछिल्लो भेटमा भारत १(० गोलले बिजयी भएको थियो ।

यस संस्करणमा भारत दुई जीत र दुई बराबरीका साथ आठ अंकसहित शीर्षस्थानमा र नेपाल दुई जीत एक हार र एक बराबरी गर्दै सात अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । फाइनल खेल माल्दिभ्सको माले राष्ट्रिय रंगशालामा यही असोज ३० गते शनिवार खेलिंदैछ ।