back
stc
prabhu insurance

युक्रेन कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को छनोट नजिक

एजेन्सी ।  यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युक्रेन छनोट नजिक पुगेको छ । युरोपेली विश्वकप छनोट अन्तरगत सेमिफाइनलमा स्कटल्यान्डलाई ३–१ ले पराजित गरेको हो ।

युक्रेनका लागि आन्द्री यारमोलेन्को, रोमन यारेमचुक र आर्टेम डोभबयकले गोल गरे । खेलको ३३औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाए ।

४९औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनको अग्रता दोब्बर पारे । ७९औं मिनेटमा कलुम म्याकग्रेगरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अर्टिमले ओलेक्सन्डर जिनचेन्कोको पासमा गोल गर्दै युक्रेनलाई सहज जित दिलाए ।

अब प्लेअफ फाइनलमा युक्रेनले आइतबार वेल्सको सामना गर्नेछ । मार्चमा हुनु पर्ने खेल युक्रेनमाथि रुसको आक्रमणपछि अहिलेका लागि सारिएको थियो । युक्रेनले स्कटल्यान्डविरुद्ध सुरुमै उतारेका छ खेलाडी आफ्नै देशका क्लबमा आबद्ध थिए ।

कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेको अब वेल्स र युक्रेन, अष्ट्रेलिया र युएईविरुद्ध पेरु तथा कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट ३ राष्ट्र छनोट हुन बाँकी छ ।