back
stc
prabhu insurance

नेपाल इन्भेस्टमेन्ट बैंकको ३ अर्व ६५ करोड १४ लाख खुद मुनाफा आर्जन

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लि. ले खुद नाफा रकममा उल्लेख्य सुधार गरेको छ । बैंकले साउन गते २९ शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
यो अघिल्लो आ.व. २०७६/७७ को तुलनामा ५०.६९ प्रतिशत अर्थात् १ अर्ब २३ करोडले बढी हो । बैंकले अघिल्लो आ।व।को असार मसान्तसम्म २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा, गैरसंचालन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा उल्लेख्य बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३.२० प्रतिशतले घटेर ५ अर्ब ५९ करोडमा सीमित भएको छ । यस्तै बैंकको संचालन नाफा ४९.५० प्रतिशतले बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

१६ अर्ब २५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ छ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ७४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४.९३ प्रतिशत र कर्जा लगानी विस्तार १६.१५ प्रतिशतले सुधार भएको छ ।

खुद नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी १७.०५ रुपैयाँबाट बढेर २२.४६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १९८.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.४८ गुणा, सीसीडी अनुपात ७५.१२ प्रतिशत, आधारदर ५.७४ प्रतिशत र स्प्रेडदर ३.३३ प्रतिशत र खराब कर्जा २.४६ प्रतिशत रहेको बैंकले जनाएको छ ।