back
prabhu insurance
himalayanlife

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३२ सम्म विक्री गरेको हो ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ ९साविक गाती गा.वि.स. तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।

यसअघि वैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निषेधाज्ञा भएपछि वैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्रीमा ल्याएको हो ।

कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानीयका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य बासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।

साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ ।