back
stc
prabhu insurance

सेबोन अध्यक्ष माथि कारवाही हुन छानविन गर्न समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न सरकारले शक्तिशाली समिति गठन गरेको छ ।

बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय समिति गठन गरेको छ ।

सो समितिमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ मा अध्यक्षले बोर्डलाई हानीनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्नेछ भन्ने व्यवस्था छ।

त्यसैको आधार यस्तो समिति गठन गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । ऐनमा जाँचबुझ समितिले सिफारिस गरेमा अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेको पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सो कम्पनीको शेयर खरीद भएको पाइएको थियो ।

प्रतिशेयर मूल्य ७५० रुपैयाँ हाराहारीमा कारोबारको तयारीमा रहेको सो कम्पनीको शेयर अध्यक्षले आफ्नो पदको दुरुपयोग गरी प्रतिकित्ता २५० रुपैयाँको दरले खरीद गरेका थिए ।

यसअघि यस्तै कर्म गरेका कारण नेपाल स्टक एक्सचेञ्जका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिइसकेका छन् ।

उनले श्रीमतीको नाममा सर्वोत्तमको शेयर खरीद गरेका थिए । यो तथ्य बाहिर आएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले राजिनामा गरि सकेका छन्।

निजहरुलाई कारवाही गर्न प्रतिनिधिसभाको अर्थसमितिमा सांसदहरुले उच्चस्तरीय छानबीन समिति मार्फत काम गर्न सरकारलाई निर्देशन दिएको थियो । ढुंगाना र साउदलाई कारबाही गर्नुपर्ने सांसदहरुको माग रहेको थियो ।