back
stc
prabhu insurance

तरलता होइन,एकल अंकको व्याजदर कायम गर्ने दबाब

अहिले बैंकिङ क्षेत्रमा तरलताको अभाव भएको संकेत देखिएको छैन । तरलताको अभाव भए अन्तर बैंक ब्याजदरमा बढनु पर्दथ्यो तर त्यो बढेको छैन । अन्तरबैंक ब्याजदर ५ प्रतिशत मात्र छ। अन्य ब्याजदर बृद्वि नेपाल राष्ट्र बैंकले रोेकेको छ ।

तरलताको संकटको अवस्था हुने स्थिती थियो भने अन्तरबैंक ब्याजदर ७र८ प्रतिशत पुगेको हुने थियो । तर अहिले पनि ५ प्रतिशत भन्दाकमै छ । यसलाई तरलताको संकट भन्न मिल्दैन । तलरता अभाव भएको हो भने त्यसको सूचना आउनु पर्थ्यो, त्यो पनि आएको छैन ।

यो कुरा नेपाल राष्ट्र बैंकका गभर्नर, कुनै बैंकको सीइओ, कुनै विज्ञले भनेर मात्र हुँदैन । त्यसका लागि बजारले सूचना दिनुपर्छ ।

त्यो सूचना अन्तर बैंक ब्याजदर हो । त्यो ५ प्रतिशतभन्दा तल छ । धेरै अभाव थियो भने बजार प्यानिक हुनुपर्ने थियो । त्यो भएको छैन । त्यसैले यो तरलताको संकट होइन । तरलता अभाव बजारले संकेत गर्छ र बजारले नै समस्या भयो भने समाधान पनि गर्छ । अहिले बजारलाई संकेत गर्न पनि नदिने, समाधान गर्न पनि नदिने अवस्था सिर्जना भएको छ ।

अहिले बैंकहरुले राम्रो काम गरिरहेका छन् । करिब २ वर्ष कोरोना महामारीको संकट भयो । त्यो समयमा आर्थिक गतिविधि रोकिएका थिए । कोरोनाविरुद्धको खोप आएपछि आत्मविश्वास बढ्यो र आर्थिक गतिविधि बढ्न थालेको छ । बैंकहरुले पनि बिस्तारै कर्जा दिन थालेका छन ।

कोरोनापछि अर्थतन्त्र तंग्रदै गरेको अवस्थामा बैंकहरुले कर्जा दिन थालेका हुन् । जुन राम्रो हो,दिनु पनि पर्छ । निजी क्षेत्रलाई सहयोग गर्नुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ । त्यो काम बैंकहरुले गरे,कर्जा दिए,आर्थिक गतिविधिलाई सहयोग गरे । जसले रोजगारी सिर्जनामा राम्रो प्रभाव परेको छ ।

सरकारले पनि राजस्व संकलन गरिरहेको छ,रोजगारी पनि सिर्जना भइरहेको छ, बजारमा वस्तु तथा सेवा उपलब्ध भैरहेको छ । त्यसका पछाडि वित्तीय स्रोतले काम गरेको छ । त्यो भएन भने निजी क्षेत्रले काम गर्न सक्दैन । त्यसैले बैंकले जे गर्नुपर्ने थियो । त्यो गरिरहेका छन् ।

आर्थिक गतिविधि बढेका बेला कर्जाको माग बढछ,बजारले स्रोतको परिचालन गर्नुपर्छ । बचत स्रोत घरमा रहेको , अनावश्यक हुने खर्चलाई बजारमा ल्याउन आवश्यक छ । त्यो काम ब्याजदरले गर्ने हो । व्याजदर बढेमा बैंकमा निक्षेप आउँछ। जसले स्रोतको गलत प्रयोग हुनबाट रोक्छ ।

बढी प्रतिफल दिने क्षेत्रमा लगानी जानु स्वभाविक हो, बजारले संकेत ब्याजदर मार्फत् गर्छ । समस्याको समाधान भनेकै ब्याजदर हो । बैंकहरुले ब्याजदर बढाउन थालेका थिए,त्यो सामान्य हो ।

यस्तो बेला प्रतिष्पर्धा भएन, ब्याजदर थोरै बढेन भने कुन बेला बढछ त रु मन्दिको बेला व्याजदर बढदैन । आर्थिक गतिविधि बढेको बेलामात्रै माथि जाने हो । यो भनेको प्राकृतिक नियमनै हो ।

नीति निर्माताहरुले बजारलाई अप्रत्यक्षरुपमा हस्तक्षेप गर्नुपर्ने हुन्छ । बजारमा पैसा पठाएर, खुला बजार कारोबार गरेर, ब्याजदर करिडोर मार्फत् वा अन्य वित्तीय सहयोग गरेर गर्न सकिन्छ । यसरी बजारलाई आफ्नै लयमा काम गर्न दिने र नीति निर्माताले सहयोग गर्नुपर्छ ।

हामीसँग ब्याजदर करिडोरको व्यवस्था छ । कर्जा धितो अनुपात पनि छ । यसलाई चलाएर बजारलाई काम गर्न दिने र नीति निर्माताले बजारलाई सहयोगी र सकारात्मक हस्तक्षेप गरेर अर्थतन्त्रलाई अघि बढाउनु पर्छ ।

ब्याजदरलाई नै कन्ट्रोल गर्ने हो भने बजारले काम गर्न सक्दैन । कन्ट्रोल गर्ने, नियमन गर्ने हो भने तरलता दिनुपर्यो । तरलतामा कन्ट्रोल भएन, कर्जाको परिणाममा कुनै हस्तक्षेप भएन तर ब्याजदरमा हस्तक्षेप गर्ने हो भने त्यसले सहजकाम गर्न पाउँदैन ।

यस्तो बेला बढी प्रतिफल दिने उद्योग, व्यवसाय, परियोजनामा वित्तीय स्रोतको बाँडफाँट भएको हो भने आर्थिक वृद्धि उच्च हुन्छ । ब्याजदरमा हस्तक्षेप गरेर काम गर्न दिइएन भने तजबिजका आधारमा काम गर्नुपर्ने हुन्छ ।

परिणामलाई हेर्ने र कसलाई कर्जा दिने, कसलाई नदिने भनेर हेर्नुपर्ने हुन्छ । त्यो चूनौतीपूर्ण हुन्छ । त्यसले राम्रो प्रतिफल दिँँदैन । जहिले पनि बजारदरलाई साथमा लिएन भने समस्या हुन्छ । वित्तीय र आर्थिक समस्या चुँलिन सक्छ ।

बजारमा उत्प्रेरणा दिनुपर्छ । त्यो भनेको ब्याजदर हो । त्यसले लाभ पनि दिन्छ । यो लाभसँग जोडिने विषय हो । यस्तै अवस्था हो भने अर्थतन्त्र, वित्तीय क्षेत्र गतिशिल बन्दैन । वित्तीय क्षेत्रलाई गतिशिल बनाउन आवश्यक छ ।

राष्ट्र बैंक बजारको दबाबमा पर्नु हुँदैन । अहिले एकल अंकको ब्याजदर राख्नुपर्ने उधोगीहरूको नारा छ । त्यसको दबाबमा अहिलेको अवस्था आएको हुन सक्छ ।

यसले समग्र अर्थतन्त्र गतिहीनतातर्फ जान सक्छ । ब्याजदर नियन्त्रण गर्ने हो भने पुँजी पलायन हुन सक्छ । पुँजी बाहिर जान सक्छ । घर जग्गा जस्ता अनुत्पादक क्षेत्रमा जान सक्छ । यसले गर्दा अनौपचारिक वित्तीय बजार बढ्न सक्छ । हामी वित्तीय क्षेत्रलाई गतिहिनता तर्फ डोर्याउँदै छौं ।

नेपालका उद्योग व्यवसायमा यही माग छ । यो माग जायज पनि छ । अरु उपायमार्फत् यो माग पूरा गर्न सहयोग गर्नुपर्छ । वित्तीय क्षेत्र गतिशिल बनाउने हो भने बजारलाई आफ्नै लयमा काम गर्न दिनुपर्छ ।

ब्याजदरले काम गरेन, ब्याजदर पुँजी परिचालनको माध्यम भएन भने मुलुकमा यथोचित पुँजी परिचालन हुँदैन । त्यसैले अहिले वित्तीय क्षेत्र डेडलकको स्थितीमा जान सक्ने खतरा बढेको छ । महिनैपिच्छे सर्कुलर जारी गर्ने हो भने नीतिगत अस्थिरता आउन सक्छ ।

राष्ट्र बैंकले एक महिनाअघि १० प्रतिशत भनेको थियो । एक महिनापछि औसत हो भनेको छ । अबको करिब एक सातापछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउँदैछ । अबको ४र५ दिनमा के हुन्छ त्यसका आधारमा अर्को कुरा गर्ने हो भने नीतिगत अस्थिरता हुनेछ ।

नीतिगत स्थिरता हुने हो, बजारलाई काम गर्न दिने हो, वित्तीय क्षेत्रलाई गतिशिल बनाउन के गर्नुहुन्छ, के गर्नु हुँदैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । वित्तीय क्षेत्र गतिशिल नभइ अर्थतन्त्र गतिशिल हुँदैन ।
अहिले तरलताको विषय उठेको छ । यसको एउटा उपाय ब्याजदर हो । ब्याजदरलाई नै कन्ट्रोल गर्ने हो भने त्यो प्रत्यक्ष हस्तक्षेप हो ।