back
stc
prabhu insurance

सन नेपाल लाइफ इन्स्योरेन्सको वैशाख ९ गते वार्षिक साधारण सभा बस्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वैशाख ९ गते शुक्रबार वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

नियामक बिमा समितिले जीवन बिमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने व्यवस्था गरेपछि सोही अनुसार पुँजी वृद्धि प्रस्ताव राखिएको हो । अब सोही पुँजीलाई आधार मानेर आइपीओ पनि जारी गर्नुपर्ने हुन्छ ।

त्यस्तै, कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

यता, एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा हायात प्लेस, रेडक्रस रोड, ताहाचल काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । यता, सन नेपालले आइपीओ निष्कासनका लागि रेटिङ गराइसकेको छ ।

केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन । बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ ।